
मंगलवार , भाद्र २४, २०८२
भैरहवा, २४ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले समृद्ध, समावेशी र सहिष्णु समाज निर्माणमा युवा पुस्ताको योगदान अमूल्य भएको जनाएको छ । महासंघले युवाको आवाजलाई सुन्ने, बुझ्ने र सम्बोधन गर्ने जिम्मेवारी बहन गर्नुपर्छ भन्ने निजी क्षेत्रको धारणा रहेको बताएको छ ।
मंगलबार लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले शोक वक्तव्य जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश सधै शान्तिपूर्ण संवाद, विधिको शासन र लोकतान्त्रिक मूल्यहरुको संरक्षणमा विश्वास राखेको बताउनुभयो । उहाँले हिजो काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा घटेको गम्भीर र दुःखद घटनाले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको बताउनुभयो ।
‘मुख्य गरी सुशासन र भ्रष्टाचारविरुद्ध एवं सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा निस्किएका शान्तिपूर्ण युवा प्रदर्शनकारीहरुमाथि भएको सरकार पक्ष र प्रहरीहरुको हस्तक्षेप र त्यसबाट निम्तिएको जनधनको क्षतिमा हामी अत्यन्तै मर्माहित भएका छौं, ’वक्तव्यमा भनिएको छ ।
यस घटनामा परी अनेकौं कलिला युवाहरुले ज्यान गुमाउनुपरेको र सयौं घाइते भएको दुःखद समाचारले आफूहरु गहिरो शोकमा डुबेको बताउनुभयो । ‘आफ्नो अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका लागि युवाहरुले आवाज उठाउने क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण दिवंगत आत्माहरुप्रति हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौं, ’वक्तव्यमा उल्लेख छ ।
यसप्रकारका दुःखद घटनाहरु दोहोरिन नदिन सम्बन्धित सबै पक्ष एवं निकायहरुलाई गम्भिर समीक्षा, सुधार एवं संयमित हुन अध्यक्ष शर्माले आग्रह गर्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij