
बुधवार , भाद्र २५, २०८२
नेपालको पीडाको कथा कुनै नयाँ होइन, यो त इतिहासभरी दोहोरिइरहेको घाउ हो । २०४६ सालको आन्दोलनमा पनि जनता सडकमा उत्रिएका थिए, २०६२/०६३ को आन्दोलनमा पनि जनताले आफ्नो रगत बगाएका थिए । लोकतन्त्र आयो, गणतन्त्र आयो भनेर जनतालाई मीठा सपना देखाइयो । तर, जनताको जीवन अझै पनि अन्धकारमै छ । नेताहरू फेरिँदा–फेरिँदा अनुहार मात्र फेरिन्छ, चरित्र भने उही भ्रष्ट रहिरहन्छ ।
भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो क्यान्सर हो । अस्पतालमा औषधि किन छैन ? किनभने बजेट त नेता र तिनका दलालहरूले खाइदिएका छन् । विद्यालयमा गुणस्तरीय शिक्षा किन छैन ? किनभने शिक्षा मन्त्रालय बजेट आफ्ना नातेदारका कलेजतिर घुमाइदिन्छ । विकासका नाममा सडक खन्ने, फेरि अर्को वर्ष त्यही सडक खन्ने, अनि जनताको पसिनाको करमा नेताले गाडी थप्ने । जनता कर तिर्छन्, पसिना बगाउँछन् । तर, त्यो पसिनाको मूल्य नेताहरूका बिलासी महलमा खर्चिन्छ । यही हो नेपालमा विकासको वास्तविक अर्थ ।
तर, भ्रष्टाचार केवल पैसा लुट्ने कुरा मात्र होइन, यो जनताको भविष्य चाट्ने दानव हो । एक आमा बिहान खेतमा काम गरेर, बेलुकी घरधन्दा, आफ्ना छोराछोरीलाई पढाउन ऋण खोज्छिन् । तर, जब छोराछोरी पढेर बेरोजगार हुन्छन्, जब सरकारी जागिरका लागि लाखौं घुस मागिन्छ, जब निजी क्षेत्रमा नाता नपाएर ढोका बन्द हुन्छ त्यो आमाको आँसु किन ? किनभने नेताको बच्चा विदेशमा पढ्छ, आम जनताको बच्चा विदेशमा पसिना बगाउन बाध्य हुन्छ । यही हो भ्रष्टाचारको परिणाम ।
एक थप्पड नलागाएर हुर्काइएका सन्तानलाई गोलीले जवाफ दिने नेपाल । सत्य बोल्नेको आवाज दबाएर शक्ति देखाउने राज्य । छोरीको अस्मिता सडकमा लुटिदा, समाजिक सञ्जालमा प्रतिबन्ध लगाएर के शक्ति देखाउँछौ ? उसले स्वतन्त्रता रोजेको थियो । तर, किन उसको जीवनमा नै ताला लादियो ?
हिजोको दिनले यो भ्रष्ट व्यवस्था अझ नांगो पारिदियो । जेनजीका नाबालिकहरू शान्तिपूर्ण प्रदर्शनमा उत्रिए । उनीहरूको हातमा बन्दुक थिएन । तर, किताब थियो । उनीहरूको अनुहारमा घृणा थिएन । तर, आशा थियो । उनीहरूको स्वरमा हिंसा थिएन । तर, सत्य थियो । तर, राज्यले जवाफ दियो गोलीले । निर्दोष नाबालिकहरू सडकमा ढले । आमाबाबु रुन बाध्य भए । देशले फेरि आफ्ना छोराछोरी गुमायो ।
अब प्रश्न छ–कसलाई सलाम गर्ने ?
तिनै नेताहरूलाई जसले जनताको पसिनाको पैसा चाट्दै महल सजाइरहेका छन् ? कि ती निर्दोष युवाहरूलाई जसले किताब बोकेर शान्तिपूर्ण आन्दोलनमा ज्यान दिए ?
उत्तर सजिलो छ यो देशको साँचो नायक जेनजी हुन् ।
जेनजी किन सडकमा निस्किए ? कारण स्पष्ट छ, यो पुस्ताले देखेको छ आफ्ना बाबुआमाले पसिना बगाएर पढाएको । उनीहरूले देखेका छन् अस्पतालमा अक्सिजन नपाएर आमा–बाबु मरेको । उनीहरूले देखेका छन् आफ्ना दाजुभाइ रोजगारी खोज्दै परदेशिएको । उनीहरूले देखेका छन् कसरी बेरोजगारीले भविष्य चोरेको । आफ्ना छोराछोरी भविष्यबिहीन भएको । उनीहरूले देखेका छन्–कसरी महंगीले परिवार भोकै सुतेको । यो पुस्ताले देखेको छ भ्रष्टाचारले देशलाई बन्धक बनाएको । उनीहरूले देखेका छन् कि न्याय किनिन्छ, सपना मारिन्छ, श्रमको मूल्य दिइँदैन । उनीहरूले महसुस गरेका छन् यो भ्रष्ट व्यवस्था मौन बसेर अझै बलियो हुन्छ । त्यसैले उनीहरूले प्लेकार्डमा ‘भ्लयगनज ष्क भलयगनज’ लेखे । त्यसैले उनीहरूले बोले, ‘भ्रष्टाचार बन्द गर, न्याय देऊ ।’
उनीहरूले देखाएका छन् कि परिवर्तनका लागि साँचो साहस बन्दुकमा होइन, सत्यमा हुन्छ । उनीहरूको आँखा आँसुमा भिजेको छ । तर, आत्मा साहसले भरिएको छ । उनीहरूको रगतले फेरि एकपटक यो देशलाई प्रश्न गरेको छ, ‘कसरी अझै पनि हामी मौन बस्न सक्छौं ?’
तर, राज्यले उत्तर दिएको छ गोलीले । यही हो नेपालको बिडम्बना जनताले आवाज उठाउँदा गोली खान्छन्, नेताले देश बेच्दा सम्मान पाउँछन् । ‘सतीले सरापेको देश’ भन्ने उखान व्यर्थ छैन, किनभने यो देशमा सधैं निर्दोषको रगत बग्छ, दोषी महलमा रमाउँछ ।
तर, अब इतिहासले नयाँ पृष्ठ लेखेको छ । हिजो सडकमा मरेका ती नाबालिकहरू केवल नाम मात्र होइनन्, उनीहरू प्रतिरोधको प्रतीक बनेका छन् । अब यो देशको नयाँ वीरहरू नेताहरू होइनन्, जनताको छोराछोरी हुन् । जनताले सलाम गर्ने पात्र भ्रष्ट नेता होइनन्, सत्यका लागि रगत बगाउने ती निर्दोष जेनजी हुन् ।
नेपालको इतिहासमा आजसम्म धेरै आन्दोलन भए, धेरै बलिदान भए, तर अझै पनि लक्ष्य अपुरो छ । यो पुस्ताले चाहेको छ भ्रष्टाचारबिहीन नेपाल, न्यायपूर्ण समाज, अनि भविष्य आफ्नै देशमै खोज्न सक्ने अवस्था । यही सपना पूरा गर्न उनीहरू सडकमा निस्किएका छन् ।
अब समय आएको छ जनताले ठम्याउन, कसलाई दोषी ठहर गर्ने ? भ्रष्ट नेताहरूलाई, जसले देश बेचिरहेछन् ? कि ती युवाहरूलाई, जसले देश बचाउन रगत बगाइरहेछन् ? उत्तर सजिलो छ । अब भ्रष्टाचारको खेल धानिँदैन, अब यो देशलाई बदल्ने जिम्मा नयाँ पुस्ताले नै लिनेछ ।
नेपालको मुक्ति भ्रष्ट नेताहरूको भाषणमा होइन, निर्दोष युवाहरूको आँसु र रगतमा लुकेको छ । यही हो सत्य, यही हो आजको पीडा, यही हो भोलिको आशा ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij