
बिहिवार , भाद्र २६, २०८२
काठमाडौं, २६ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जेनजी पुस्ताबाटै मुलुकको नेतृत्व लिने हिम्मत गर्न जेनजीलाई सुझाव दिनुभएको छ । उहाँले युगान्तकारी आन्दोलनको नेतृत्व लिएका जेनजीलाई नेतृत्व बनेर आउन र त्यसभन्दा बाहिर गएर नेतृत्व नछान्न बस्नेतले सुझाव दिनुभएको छ ।
बस्नेतले भन्नुभयो–‘जेनजी साथीहरु, राजनीतिक दलहरुमाथि तपाईहरुको प्रहार निर्मम मात्र छैन जोखिमयुक्त पनि छ । होसियार रहनूस् । तपाईहरुको क्रान्ति प्रतिक्रान्तिमा बदलिन सक्छ, सचेत रहनूस् । संविधान, निर्वाचन प्रणाली, शासकीय स्वरुप, संसद, सरकार, न्यायालय, संवैधानिक निकायलगायतका संरचना र अंगहरुमा परिवर्तन र सुधारका लागि आवश्यक ठोस कदम चाल्नुहोस् ।’
बस्नेतले जेनजीलाई निषेधको राजनीति नभइ वृहत्तर समझदारी र सहमतिलाई आत्मसात गर्न सुझाव दिनुभएको छ । उहाँले कांग्रेस कम्युनिष्टको सिण्डीकेटले मुलुकको आज यो दुर्दशा भएको भन्दै जेनजीलाई उही गल्ती नदोहर्याउन आग्रह गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ–‘जेनजी साथीहरु, अब तपाईहरुको काँधमा भयंकर ठूलो जिम्मेवारी आइलागेको छ । तर दुखको कुरा तपाईहरुबीच आफैमा नेतृत्वको चूनौति देखिएको छ । आफैबीच नेतृत्व छान्न यति सकस भइरहदा यो सिंगो मुलुकको नेतृत्व कसरी गर्नुहोला म चिन्तित भएको छु ।’
आन्दोलनको क्रममा विध्वंशमा संलग्न जोसुकै भएपनि कारवाही हुनुपर्ने उहाँको भनाइ छ । मानवीय र भौतिक संरचनामा भएको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij