
शुक्रवार , भाद्र २७, २०८२
भैरहवा, २७ भदौ । रुपन्देहीमा लागेको कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिनदेखि जारी राखेको कर्फ्यु तथा निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्दै गएको हो । कर्फ्यु हटेसँगै छिमेकी मुलुक भारतबाट आएका ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, तरकारी तथा फलफूल बोकेका मालबाहक सवारीसाधन आउन सुरु भएको छ ।
त्यसै गरी पर्यटक बोकेर आएका यात्रुबाहक सवारीसाधन पनि सहज रुपमा ओहर दोहर गरिरहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले रुपन्देहीको जनजीवन सामान्यीकरणतर्फ लागेको बताउनुभयो । उहाँले अवस्था सामान्य बन्दै गए पनि तीनै तहका सुरक्षा निकायले आवश्यक सुरक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।
लामो र छोटो दूरीका सवारीसाधनहरु पनि सञ्चालन हुन थालेका हुन् । भ्रष्टाचार र बेथितिकाविरुद्ध जेन जी पुस्ताले गरेको आन्दोलनपछि देशको अवस्था नियन्त्रण बाहिर गएको थियो ।
सुरक्षा चुनौति बढेसँगै नेपाली सेनाले सुरक्षाको जिम्मा लिएर अहिले पनि सुरक्षा दिँदै आएको छ । यतिबेला आम नागरिकहरु घरबाहिर निस्किन थालेका छन् । पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिर मानिसहरु निस्किएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij