२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

उद्योग–व्यवसाय सञ्चालन गर्न सिद्धार्थ उवासंघको आग्रह

शुक्रवार , भाद्र २७, २०८२

  • 511
    Shares
  • 511
    Shares
  • भैरहवा, २७ भदौ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नजिकिदै गरेको चार्डपर्वलाई मध्यनजर गर्दै उपभोक्ताको हितलाई प्राथमिकतामा राखी आफ्नो उद्योग–व्यवसायहरु सञ्चालन गर्न आग्रह गरेको छ । रुपन्देही जिल्लाका सम्पूर्ण उद्योगी–व्यवसायीहरुलाई यस क्षेत्रमा आपसी सदभाव कायम राखी, सहज व्यवसायिक वातावरण सृजना गर्दै उद्योग–व्यवसाय सञ्चालन गर्न संघले अपील गरेको हो ।

    शुक्रबार संघका अध्यक्ष नेत्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘देशमा वर्षौदेखि थुप्रिएर रहेका अनेक बेथिति, विसंगति र व्याप्त भ्रष्टचारविरुद्धमा जेनजी समूह पुस्ताले सुधारको माग गर्दै सञ्चालन गरेको अहिंसात्मक प्रदर्शनका क्रममा भएको ठूलो जनधनको क्षति तथा प्रदर्शनका क्रममा ज्यान गुमाउनुभएका वीर युवाप्रति संघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो शोक, समवेदना तथा घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । ’

    मुलुक यतिखेर इतिहासकै कठिन चौबाटोमा उभिएको र यस विषम परिस्थितीमा ज–जसले जेसुकै नाममा निजी, सार्वजनिक सम्पत्ति तथा व्यक्ति विशेषमाथि गरिरहेको आक्रमण, लुटपाट, तोडफोडलगायत विभिन्नखाले उच्छृखल क्रियाकलाप अविलम्ब रोक्न संघले अपील गरेको छ ।

    ‘जेनजी पुस्ता तपाईहरुको पवित्र आन्दोलनले सकारात्मक बाटो तय गर्दै गरेको अवस्थामा यस आन्दोलनका नाममा केही अवाँछित तत्वहरुले आफ्ना नीहित स्वार्थ पूरा गर्न र तपाईहरुको पवित्र आन्दोलनले पाएको अभूतपूर्व सफलता एवं विजयलाई गलत भाष्य दिनका लागि निजी, सार्वजनिक, राष्ट्रिय सम्पत्ति तोडफोड, लूटपाट तथा उच्छृखल गतिविधि भइरहेकोबाट हामी तपाई सबै दुःखी छौं, ’विज्ञप्तीमा उल्लेख छ ।
    ‘जेनजी तपाईहरुबाट प्रकाशित विज्ञप्ती, सूचना लगायत सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत पटकपटक व्यक्तिगत, सार्वजनिक सम्पत्ति, भौतिक संरचना, कलकारखानालगायत अन्य कुनै पनि संरचनाहरु तोडफोड, लुटपाट तथा व्यक्तिमाथि भौतिक आक्रमण गर्ने हाम्रो पवित्र आन्दोलनको उद्देश्य नरहेको उद्घोषलाई सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही लगायत आम नेपालीले उच्च मूल्यांकन गर्दै सम्मान व्यक्त गरेको छ, ’विज्ञप्तीमा भनिएको छ ।

    यस्ता घटना, परिघटनाहरुको सुक्ष्म निगरानी गरी अबका दिनदेखि कुनै पनि गलत क्रियाकलाप हुन नदिन नेपाली सेनाको नेतृत्वमा खटिएको सुरक्षा फौजलाई पनि संघले अपील र आग्रह गरेको छ ।