
शुक्रवार , भाद्र २७, २०८२
काठमाडाैं, २७ भदाै । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियामार्फत शान्ति, स्थायित्व, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ बनाउँदै अघि बढ्न अपिल गर्नुभएको छ ।
शुक्रवार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको संविधान भित्रैबाट निकास खोज्नुपर्ने बताउनुभएको हो ।
२३ र २४ भदौमा जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संसदले दुःख व्यक्त समेत गरेको छ । साथै आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।
‘देशमा विद्यमान विपत्तिपूर्ण परिस्थितिमा जनता मिलेर सार्वभौमिकता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरमा राख्दै संवैधानिक प्रक्रियाबाट निकास दिन सबैलाई आह्वान गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ ।’
विधिको शासन र संविधानवादलाई मजबुत बनाउन संसदका दुवै सदन एकतावद्ध रहेको समेत वक्तव्यमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij