२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

‘जेन–जी’ पुस्ताको आन्दोलन र बौद्ध चिन्तन

शनिवार , भाद्र २८, २०८२

  • 523
    Shares
  • 523
    Shares
  • बौद्ध दर्शन शान्ति, अहिंशा र मध्यम मार्गमा आधारित छ । त्यसैले कुनै पनि आन्दोलन शान्तिपूर्ण हुनुपर्दछ । त्यसमा तोडफोड, आगजनी, हिंसा र जीवनको क्षतिलाई कदापि स्वीकारिँदैन । पञ्चशील होस् वा आर्य अष्टाङ्गिक मार्ग । सबैमा हिंसाको विरोध गरिएको छ । तर, सामाजिक र राजनैतिक जीवनमा आन्दोलन स्वभाविक प्रक्रिया पनि हो । यस सन्दर्भमा नेपालमा हालै देखिएको जेन–जी आन्दोलनलाई बौद्ध दर्शनका मूलभूत सिद्धान्तहरू, विशेष गरी दुःख, तृष्णा, अविद्या र आर्य अष्टाङ्गिक मार्गको आलोकमा विश्लेषण गर्न सकिन्छ । यस आलेखमा नेतृत्वमा व्याप्त सत्तालोभ (तृष्णा) र अज्ञानता (अविद्या) ले कसरी गरीबी, बेरोजगारी र कुशासनजस्ता सामाजिक दुःख सिर्जना गर्छ भन्ने कुरालाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।

    शासकहरूले जनताको दुःख र पीडालाई नजरअन्दाज गर्न थाल्दा समाजमा असन्तोष र आक्रोशको बीजारोपण हुन्छ । यो असन्तोष क्रमशः बढ्दै जाँदा आन्दोलनको रूपमा विस्फोट हुन पुग्छ । बौद्ध दर्शनले दुःखको मूल कारणलाई तृष्णा (अत्यधिक लालसा), अविद्या (अज्ञान) र राग (आशक्ति) मानेको छ । जब राजनीतिक नेतृत्वमा यस्ता तत्वहरू हाबी हुन्छन्, त्यसले जनतामा दुःखको चक्रलाई झन् बढाउँदै जान्छ । सत्ता, सम्पत्ति र शक्तिको लालसामा शासकहरू जनताका मुद्दाहरूलाई बेवास्ता गर्न थाल्छन्, जसले गर्दा देशमा आर्थिक मन्दी, बेरोजगारी र राजनीतिक अस्थिरता बढ्दै जान्छ ।
    यस सन्दर्भमा, ग्रीक दार्शनिक प्लेटोले भनेका छन्, ‘राजनीतिमा होमिन नचाहनेले आफूभन्दा असक्षमहरूबाट शासित हुँदा सजाय पाउँछन् ।’ यस भनाइमा उल्लेखित ‘असक्षम शासकहरू’ लाई बौद्ध दर्शनले व्याख्या गरेको अज्ञानता (अविद्या) र लोभ (तृष्णा) ले ग्रसित मानिसका रूपमा अथ्र्याउन सकिन्छ । नेपालमा हालै देखिएको जेन–जी आन्दोलन कुनै आकस्मिक घटना नभइ वर्षौंदेखि जरा गाडेको राजनीतिक नेतृत्वको अविद्या र तृष्णाको प्रतिफल हो । यस आन्दोलनले गरीबी, असमानता, बेरोजगारी र महंगीजस्ता समस्याहरूबाट सिर्जित ‘सामुदायिक दुःख’ लाई छर्लङ्ग पारेको छ ।
    जेन–जी अर्थात् जेनरेसन–जी । उनीहरू सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवाहरू हुन्, जो अहिले करिब १३ देखि २८ वर्षको भएका छन् । उनीहरुले गरेको भदौ २३ र २४ को सत्ताविरुद्धको आन्दोलन केवल सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध मात्र नभएर, वर्षौंदेखि जरा गाडेको भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिप्रति युवाहरूमा रहेको सामूहिक आक्रोशको अभिव्यक्ति थियो । यो एकप्रकारको ‘सामुदायिक दुःख’ अर्थात् समाजले भोग्नु परेको पीडा थियो, जुन नेतृत्वमा रहेको अज्ञानता र लोभको कारण सिर्जना भएको थियो ।

    बौद्ध दर्शनको आलोकमा आन्दोलनको अन्तर्य 
    बौद्ध दर्शनअनुसार, दुःखको कारण खोज्नु र त्यसलाई निवारण गर्ने मार्गमा लाग्नु नै जीवनको मुख्य उद्देश्य हो । नेपालको वर्तमान आर्थिक र सामाजिक अवस्थालाई हेर्दा, नेपाली जनताले अनेकौं दुःख भोगिरहेका छन् । गरीबी, बेरोजगारी, आय असमानता र बढ्दो मूल्यवृद्धिजस्ता आर्थिक समस्याहरूले जनतालाई पीडा दिइरहेका छन् । यी समस्याहरू ‘दुःख’ हुन् । बौद्ध दर्शनको ‘समुदय’ (दुःखको कारण) सिद्धान्तअनुसार यी दुःखका मुख्य कारणहरूमा राजनीतिक नेतृत्वको अज्ञानता (अविद्या) र सत्ता, सम्पत्ति एवं शक्तिको लालसा (तृष्णा) पर्दछन् ।

    नेतृत्वमा दूरदर्शिता र ज्ञानको अभाव (राजनीतिक अविद्या) हुँदा देशको अर्थतन्त्रलाई सही दिशा दिन सकेन । आयात–निर्यातको खाडल बढ्दै जानु, सार्वजनिक ऋण चुलिनु र अर्थतन्त्रमा मन्दी आउनुमा पनि यही अज्ञानताले कहीं नकहीं काम गरेको देखिन्छ । शासकहरूले जनताको हितलाई भन्दा आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थलाई प्राथमिकता दिँदा भ्रष्टाचार र परिवारवाद मौलाउँछ । यसका साथै तृष्णाले सुशासनलाई कमजोर बनाउँछ र युवाहरूमा निराशा पैदा गर्छ, जसले गर्दा योग्य युवाहरू विदेश पलायन हुन बाध्य हुन्छन् । नेपालमा पछिल्लो समय भएको पनि यही नै हो ।

    सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गर्नु बौद्ध दर्शनमा उल्लेखित ‘मिथ्या वाणी’ (झूटो बोली) र ‘मिथ्या कर्म’ (गलत कार्य) को एउटा रूप हो । सरकारले जनताको आवाज दबाउन खोज्दा जनतामा भएको दुःखको आगो झनै दन्कियो । यही कारणले गर्दा जेन–जी पुस्ताले आन्दोलनको मार्ग रोज्न बाध्य भए ।

    आन्दोलनको क्षति र कर्मको फल
    बौद्ध दर्शनले कर्मको सिद्धान्तमाथि जोड दिन्छ । कर्मको फल अवश्य मिल्छ । शासकहरूको खराब कर्म (अनैतिक शासन, भ्रष्टाचार, हिंसा) को फल जनताको आक्रोश र आन्दोलनको रूपमा प्रकट भएको हो । आन्दोलनको पहिलो दिन १९ जना युवाको मृत्यु हुनु र सयौं घाइते हुनु अत्यन्तै दुःखद र त्रासदीपूर्ण घटना हो । त्यसो त मानवीय क्षतिलाई कुनै पनि भौतिक मूल्यका आधारमा तुलना गर्न सकिँदैन । यो केवल ‘दुःख’ को मात्र नभई ‘अकुशल कर्म’ (खराब कर्म) को फल हो, जुन विवेकहीन शासकहरूको कारणले उत्पन्न भयो ।

    आन्दोलनको क्रममा सिंहदरबार, सर्वोच्च अदालत र अन्य सार्वजनिक संरचनाहरू जल्नु एक प्रकारको विनाशकारी ‘अकुशल कर्म’ हो । बौद्ध धर्ममा हिंसा, विनाश र द्वेषलाई पाप मानिन्छ । यस प्रकारको विनाशले देशको आर्थिक मात्र होइन, सामाजिक र साँस्कृतिक मूल्यमान्यतामाथि पनि निकै ठूलो चोट पुर्याएको छ । भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिएला, तर मानवीय क्षति र सामाजिक विश्वासमा पुगेको चोट निको हुन वर्षौं लाग्नेछ । आर्थिक दृष्टिले हेदा यो क्षतिले पर्यटन र वैदेशिक लगानीमा पनि नकारात्मक प्रभाव पार्ने देखिन्छ । यसले गर्दा हाल मन्दीको अवस्थामा रहेको मुलुकको अर्थतन्त्रका लागि थप दुःखदायी अवस्था सिर्जना हुने अनुमान लगाउन सकिन्छ ।

    मुलुकमा देखिएको संकट र अष्टांगिक मार्ग
    देशमा देखिएको संकट समाधान गर्नका लागि बौद्ध धर्ममा रहेको आर्य अष्टाङ्गिक मार्गको अवधारणा महत्वपूर्ण हुन्छ । यो मार्ग दुःख निवारणको लागि अपनाइने सही बाटो हो । जेन–जी आन्दोलन पश्चात् हुन पुगेको भौतिक क्षति र राजनीतिक अस्थिरताले मुलुकलाई संकटको अवस्थामा पु¥याएको छ । यो अवस्थामा आर्य अष्टाङ्गिक मार्गका सिद्धान्तहरूलाई राजनीति र समाजमा लागू गर्न सकिएमा देशलाई सही दिशामा लैजान सकिन्छ ।
    समस्याको सही पहिचान गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । यसलाई सम्यक् दृष्टिको रुपमा लिन सकिन्छ । हाम्रो मूल समस्या भ्रष्टाचार, अज्ञानता र सत्ताप्रतिको लोभ हो भन्ने कुरालाई सबैले बुझ्नुपर्छ । युवाहरूले यो कुरा राम्ररी बुझेका पनि छन् । बौद्ध दर्शनको सम्यक् संकल्पलाई देशको अबको निकाशका निम्ति सबैजना संवेदनशील हुनुर्ने कुरालाई सङकेत गरेको छ । वास्तवमा देशलाई सही मार्गमा लैजानको लागि दृढ सङ्कल्प आवश्यक छ । यो सङ्कल्प जनताको दुःख निवारण गर्ने, न्याय र सुशासन स्थापित गर्ने किसिमको हुनुपर्दछ । 
    नेताहरूले झूटो आश्वासन र धोका दिनुको सट्टा सत्य बोल्नुपर्छ । यसको लागि आर्य अष्टाङ्गिक मार्ग अन्तर्गत्को सम्यक् वाचालाई ब्यवहारिक रुपमा उपयोग गर्नु पर्दछ । वास्तवमा राजनीतिक संवादमा इमान्दारिता हुनसके मात्र यो सम्भव हुनसक्छ । नेताहरूको कर्म स्वार्थपूर्ण नभई जनहितकारी हुनुपर्छ । यसलाई समयक् कर्म अन्तर्गत लिन सकिन्छ । अबका दिनमा बन्ने सरकार भ्रष्टाचार, हिंसा र अनैतिक कार्यहरूबाट टाढा रहनुपर्छ । यसैगरी सम्यक् जीविकालाई पनि ध्यान दिनु आवश्यक छ । शासक र नागरिक दुवैले आफ्नो जीविकालाई नैतिक र इमान्दारिताका साथ आर्जित धनबाट पूरा गर्नुपर्छ । भ्रष्टाचारबाट हुने अनैतिक कमाईलाई पूर्णरूपमा निषेध गर्नुपर्छ । यसका निम्ति कडाभन्दा कडा कानुन बनाई लागू गरिनुपर्दछ । 
    सम्यक् व्यायामले भनेजस्तै यस सन्दर्भमा पनि देशलाई समृद्ध बनाउनका लागि हरेक नागरिक र नेताले निरन्तर प्रयास गर्नुपर्छ । त्यसैगरी सयक् स्मृतिले विवेकपूर्ण निर्णय लिनका लागि सबैले आफ्नो कार्य र विचारप्रति सचेत रहन सङ्केत गरेको छ । साथै यसले भीडको आवेगलाई विवेकले नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश दिन सक्दछ । सम्यक् समाधिको सन्दर्भमा भने देशका सबै सरोकारवालाहरूले एकताबद्ध भएर समस्या समाधानका लागि ध्यान केन्द्रित गर्नुपर्छ । अबको बाटो भनेको मुलुकलाई सही निकास दिनका निम्ति बलियो सरकार निर्माण गरी अगाडि बढ्नु हो । अबका दिनहरुमा यसैमा केन्द्रिछ हुनु आवश्यक छ ।

    युवा, राजनीति र अबको बाटो
    बौद्ध विचारमा हरेक प्राणीमा बुद्धत्व प्राप्त गर्ने क्षमता भएजस्तै, हरेक युवामा देशको नेतृत्व गर्ने र परिवर्तन ल्याउने क्षमता हुन्छ । जेन–जी आन्दोलनले युवाहरूलाई केवल राजनीतिक ‘झोले’ का रूपमा प्रयोग गर्ने विगतको ‘अकुशल कर्म’ लाई चुनौती दिएको छ । अब भने युवाहरूले ‘सम्यक् दृष्टि’ र ‘सम्यक् संकल्प’ का साथ राजनीतिमा होमिनुपर्छ ।

    त्यसो त युवाहरू नेतृत्वमा आउँदैमा मात्र सबै समस्या समाधान हुँदैन । यसका निम्ति उनीहरूमा लोभ, क्रोध र अज्ञानताबाट मुक्त हुने चेतनाको विकास हुनु आवश्यक छ । अबको नेतृत्व ‘युवा’ मात्र होइन, ‘सक्षम युवा’ हुनुपर्छ, जसले जनताको दुःखलाई आफ्नो दुःख सम्झेर काम गर्न सकोस् । देशलाई नयाँ दिशा दिन महिला, पुरुष, मधेशी, आदिवासी, जनजाति सबै वर्गको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्वको निर्माण गर्नु अबको आवश्यकता हो ।

    अहिलेको व्यक्तिगत एवं समाजको दुःख निवारण गर्नका लागि अबको राजनीतिक नेतृत्वले व्यक्तिगत तृष्णालाई त्यागेर सामूहिक कल्याणको मार्गमा लाग्नुपर्छ । यसका साथै देशलाई आर्थिक भार हुने प्रशासनिक र राजनीतिक संरचनाहरूमा सुधार ल्याउनु आवश्यक छ । प्रदेशको सङ्ख्या घटाउने वा सांसदहरूको सङ्ख्या कम गर्नेजस्ता निर्णयहरूले राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्दछ, जुन ‘सम्यक् जीविका’ को एक रूप हो । त्यसैले युवाहरूले राजनीतिलाई ‘फोहोर खेल’ भनेर पन्छिने हो भने हामी सधैँ असक्षम शासकबाट शासित हुन बाध्य हुनेछौं । अतः जेन–जी आन्दोलनको ऊर्जालाई दिगो र रचनात्मक परिवर्तनमा परिणत गर्न शान्ति, संवाद, सहकार्य र सहअस्तित्वका साथ अगाडि बढ्नुपर्छ । यसका लागि बुद्धको दुःख निवारणको मार्गलाई आत्मसात गर्नु नै आजको आवश्यकता हो । भअयकगचबव२नmबष्।िअयm