बिहिवार , फाल्गुण ७, २०८२
भैरहवा, ७ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित युनिभर्सल पब्लिक हाई स्कूलको २७ औै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको भैरहवामा वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न गरेको हो ।
कार्यक्रममा २०८१ सालको वार्षिक परीक्षाको नतिजामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै शतप्रतिशत हाजिरी भएका, सरसफाईमा उत्कृष्ट देखिएका तथा अनुशासित विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
समारोहमा विद्यालयका प्रध्यानाध्यापक गोकुल पोख्रेलले विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताउनुभयो । उहाँले विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा नभइ व्यवहारिक, नैतिक तथा अनुशासित शिक्षा प्रदान गर्ने लक्ष्य लिएको बताउनुभयो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी गुरुङले गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत गरी उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । नृत्य, गीत तथा अन्य प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । अभिभावक तथा अतिथिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ भएको विश्वास गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij