
आइतवार , भाद्र २९, २०८२
काठमाडाैं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताउनुभएको छ ।
आज पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताउनु भयो । उहाँले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गर्नुभयो । उहाँले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताउनु भयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो–‘व्यक्तिका घर, सम्पती, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पतीदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पति जलाउने काम भयो । तिनलाई हामीले जसरी उभिन्छौं । उभिउ भन्न मिल्दैन । किनभने व्यक्तिको सम्पतीको क्षति भएर कतिपय व्यापरि त अब उठ्नै नसक्ने अवस्थामा पुगे । त्यसैले त्यसमा पनि राज्यले विचार गर्छ ।
उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं । कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । सानासाना व्यापारीहरु पनि लुटिएका छन् । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापरीहरुले धेरै नोक्शानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’
उहाँले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिनुभयो । साना व्यापारीहरुलाई समेत राज्यले सहयोग गर्ने उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij