
आइतवार , भाद्र २९, २०८२
भैरहवा, २९ भदौ । भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनको क्रममा क्षतिग्रस्त भएको भैरहवा भन्सार कार्यालय सिद्धार्थनगर, रुपन्देहीले कार्यालय परिसरमा टेण्ट टांगेर सेवा प्रदान गर्न सुरु गरेको छ ।
शनिबार (हिजो) देखि कार्यालय परिसरमा टेण्ट टांगेर सेवाग्राहीलाई सेवा प्रदान गर्न सुरु गरिएको भन्सार अधिकृत तथा कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।
भदौ २४ गते आएको समूहले तोडफोड तथा आगजनी गर्दा भन्सार कार्यालयको प्रमुख प्रशासकीय भवन (दुईतल्ले भवन) मा पूर्ण रुपमा क्षति पुगेको प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
‘प्रमुख प्रशासकीय भवनमा रहेको फर्निचर, कम्प्यूटर, कागजात पनि जलेर नष्ट भएको छ, यात्रु शाखा पूर्ण रुपमा जलेको छ । कार्यालयमा रहेको बैंकको शाखामा पनि क्षति पुगेको छ, ’उहाँले भन्नुभयो । प्राथमिकता निर्धारण गरी वस्तुहरुको जाँचपास सुरु गरिएको न्यौपानेले बताउनुभयो । शुक्रबार २८२ वटा गाडी जाँचपास गरिएको उहाँले जानकारी दिनुभयो ।
कर्मचारीहरुले कार्यालय परिसरमा टेण्टमुनी बसेर ल्यापटपमार्फत सेवा प्रदान गरिरहेको नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले बताउनुभयो । ‘उद्योगी–व्यवसायी सेवाग्राहीलाई कार्यालय प्रांगणमा सेवा प्रदान गर्ने प्रयास गरेकोमा भैरहवा भन्सार कार्यालयप्रति आभार व्यक्त गर्दछौं, ’उहाँले भन्नुभयो ।
प्रमुख भन्सार अधिकृत न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा भैरहवा भन्सार कार्यालयले १ खर्ब १३ अर्ब राजस्व संकलनको लक्ष्य पाएको छ । स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नेपालको प्रमुख नाका भन्सार नाका हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij