
सोमवार , भाद्र ३०, २०८२
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् ।
खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्नुभएको थियो ।
गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाको कानूनी सल्लाहकार हुनुहुन्थ्यो । अर्थमन्त्री नियुक्त खनाल पूर्व राजश्व सचिव हुनुहुन्छ । जेन–जी पुस्ताको आन्दोलन उग्र भएपछि २४ भदौमा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको थियो ।
जेन–जीको प्रश्तावमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरुले सोमवार नै पदभार ग्रहण गर्दै हुनुहुन्छ । अन्य सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्नुहुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij