२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

जेन जी आन्दोलनमा दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँ : राजुनाथ पाण्डे

बिहिवार , आश्विन २, २०८२

  • 289
    Shares
  • 289
    Shares
  • काठमाडौं, २ असोज । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताउनुभएको छ ।

    महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताउनुभएको हो ।

    बिहीवार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको बताउनु भयो ।

    राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो निभाएको स्पष्ट पार्नुभयो । नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उहाँको भनाइ छ ।

    भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेको उहाँको भनाइ छ । दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको स्पष्टोक्ति छ । सुरक्षाको प्रत्याभुतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरिएको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हामीलाई दमकल किन निस्केन भनेर प्रश्न आइरहेको थियो । तर आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन सकेन र साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको छ । अगाडि बढ्न नसकेको अवस्थामा हामी कुरिरहेका थियौँ ।

    सवा ८ बजेदेखि पौने १० सम्म हामीले सिंहदरबारमा दुई वटा दमकल लगेर निभाएका थियौँ । सुरक्षाका लागि नेपाली सेना खटिएपछि समन्वय गरेर आवश्यक ठाउँमा खटिएका थियौँ । रातभर खटियौँ । पटक पटक आगो निभाएपछि पनि आगो ननिभेर पुनः लागेकाले दशौँ पटक हामी गएका छौँ ।

    भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेका थियौँ । हामी कुनै हालतमा पनि दमकल जानसक्ने अवस्थामा ढिलाइ गरेका छैनौँ । महानगरले दमकल पठाएन भन्नेकुरा गलत हो । हामीले सुरक्षाको प्रत्याभुतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरेका हौँ ।’

    महानगर प्रहरीले घाइतेको उपचार, खानपानको व्यवस्थामा समेत खटिएको दाबी गर्नुभयो । महानगरपालिकाले उपत्यकामा ५ वटा दमकल परिचालन गरेको बताउनु भयो ।