
बिहिवार , आश्विन २, २०८२
काठमाडौं, २ असोज । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय निर्वाचन गराउनु रहेको स्पष्ट पार्नुभएको छ ।
बिहीवार निर्वाचनआयोगका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री अर्यालले निर्वाचन गराउन नसके वर्तमान सरकार असफल हुने उल्लेख गर्दै असफलताको धब्बा नबोक्ने बताउनु भयो । निर्वाचनप्रति विभिन्न किसिमका शंका नगर्न पनि आग्रह गर्नुभयो ।
उहाँले निर्वाचनको म्याण्डेट लिएर नेतृत्वमा आएको सरकार भएकाले निर्वाचनमा नै अर्जुनदृष्टि राखेर काम गरिरहेको बताउनु भयो । निर्वाचनमा जेन जी समहुन नै सहभागी हुन नपाउने पो हो कि भन्ने स्थिति पैदा भएकाले निर्वाचनका लागि विद्यमान कानूनी बाधा हटाउन सरकारले अध्यादेश ल्याउने पनि स्पष्ट पार्नुभयो ।
उहाँले स्वतन्त्र र स्वच्छ र भय रहित निर्वाचनका लागि निर्वाचन आयोग, मिडिया, नागरिक समाज, सम्बन्धित पक्ष, राजनीतिक दलहरुको सबैको साझा स्वीकारोक्ति र साझा सहमतिको आवश्यकता औँल्याउनुभयो । उहाँले मितव्ययी ढंगबाट निर्वाचन सम्पन्न गर्न आवश्यक श्रोत, साधन र जनशक्तिको कमी हुन नदिने प्रतिवद्धता पनि जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो सरकारको मुख्य काम भनेकै निष्पक्ष र समयमै निर्वाचन गराउनु हो । त्यसको लागि केही पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । शान्ति सुरक्षा पहिलो कुरा हो । स्थितिलाई सरल बनाउँदै शान्ति सुरक्षा प्रदान गर्दै यसको लागि जति पनि संरचना आवश्यक पर्दछ, समन्वयहरु आवश्यक पर्दछ ।
निर्वाचन भनेको यो एउटा वैधताको कुरा हो । अन्तर्राष्ट्रिय स्वीकार्यको कुरा पनि छ । यि सबै पूर्वशर्तहरु पूरा गर्नको लागि सरकार, निर्वाचन आयोग, मिडिया, नागरिक समाज, सम्बन्धित पक्ष, राजनीतिक दलहरुको सबैको साझा स्वीकारोक्ति र साझा सहमति आवश्यक छ ।
त्यसको लागि निर्वाचन आयोगले आफ्नो ठाउँबाट पहल गर्दछ । सरकारको तर्फबाट पनि सबै स्टेक होल्डरलाई एक ठाउँ ल्याएर निर्वाचनको वातावरण बनाउनुपर्ने देखिन्छ ।
यसको लागि सरकारको तर्फबाट हामीले भाष्य निर्माणदेखि भाष्य बमोजिमको प्राथमिकता निर्धारण गरेर अघि बढ्छौँ । निर्वाचन हुन्छ की हुँदैन भन्ने शंका कतैबाट भएको हुनसक्छ ।
निर्वाचन हुन्छ नै । यो सरकारको काम नै निर्वाचन गराउने हो । हामीले निर्वाचन समयमै गराएनौँ भने हामी असफल हुन्छौँ । हामीलाई असफलताको दाग नलागोस् भनेर सचेत छौँ ।’
गृहमन्त्री अर्यालले विद्रोहबाट आएको जेन जी पुस्ताले राजनीतिमा स्थापित गर्न सक्नुपर्ने बताउनु भयो । धेरै ठूलो क्षति व्यहोरिसकेपछि राज्यले अहिले सुशासन आवश्यक रहेको महशुस गरेको र आफुहरु निर्वाचन सम्पन्न गरि मुलुकमा सुसासन कायम गराउन लागि परेको स्पष्ट पार्नुभयो ।
निर्वाचनको स्वीकार्यता बढाउन निर्वाचन आयोगले उपयुक्त देखेका अन्य कार्यहरु गर्न आवश्यक पर्ने कानूनी एवं अन्य सुधारका लागि सरकार तयार रहेको बताउनु भयो । निर्वाचन प्रणाली कम खर्चिलो एवं थप पारदर्शी बनाउने उपायको खोजि गर्न आयोगलाई निर्देशन दिनुभयो ।
विदेशमा रहेका नेपालीलाई पनि आवधिक निर्वाचनमा सहभागी हुने अवसर प्रदान गर्न चाहेको जिकिर गर्नुभयो । निर्वाचनको स्वच्छता, निष्पक्षतामा असर नपर्ने गरी विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्ने लगायतका विषयमा आवश्यक प्रवन्धको खोजि गर्न निर्वाचन आयोगलाई निर्देशन दिनुभयो ।
युवा पुस्ता लगायत समग्र नेपालीको सुखद् भविष्य निर्माणका लागि आगामी निर्वाचनलाई कोशेढुंगाको रुपमा स्थापित गर्न आग्रह गर्नुभयो । विद्रोहको क्रममा सरकारी कार्यालयमा व्यापक क्षति पुगेको बताउँदै त्यसको पुनःनिर्माणमा सरकारले उच्च प्राथमिकता राख्ने बताउनु भयो ।
निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली अध्यावधिक गर्न नपाइने व्यवस्था रहेकाले अध्यादेशबाट संशोधन गर्ने बताउनु भयो । दल दर्तामा पनि समस्या रहे समाधान गर्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij