
बिहिवार , आश्विन २, २०८२
भैरहवा, २ असोज । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको ‘४० औं नियमित तथा विशेष बैठक’ बिहीबार भैरहवामा सम्पन्न भएको छ । क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा पार्टीका जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा बैठक भएको थियो ।
बैठकले जेनजी प्रदर्शनको क्रममा राज्य पक्षको गोली प्रहारबाट ज्यान गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै उक्त प्रदर्शनमा पार्टीका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
प्रदर्शनको क्रममा काठमाडौंलगायत देशैभरी भएको सरकारी तथा निजी सम्पत्ति, कांग्रेस पार्टी कार्यालय (भैरहवा, बुटवल, केवलपुर शुद्धोधन, सेमलार बुटवल), पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको तिलोत्तमास्थित निवास, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको बेलहियास्थित निवास, व्यवसायिक प्रतिष्ठान तोडफोड, आगजनी, लुटपाटलगायत घटनामा संलग्न व्यक्ति पहिचान गरी यथाशिघ्र कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
त्यस्तै बैठकले राष्ट्रको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति प्रतिबद्ध रहदै वर्तमान अप्रत्याशित प्रदर्शनबाट गम्भिर पाठ लिदै पार्टीलाई रुपान्तरणको बाटोमा अग्रसर गर्ने, नेतृत्वमा भएका कमीकमजोरी आत्मलोचनासहित सुधार, सरकारको कार्यहरु गुण र दोषका आधारमा खबरदारी, क्षति पुगेका पार्टी कार्यालयहरुको यथाशिघ्र पुर्ननिर्माण तथा सञ्चालन, वर्तमान परिवेशलाई आत्मसाथ गर्दै तल्लो तहसम्म तहगत बैठकहरु राख्ने, एकआपसमा भएका मनमुटावहरुलाई बिर्सिएर नयाँ जोस, जाँगर र हिम्मतका साथ एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ ।
बैठकमा कांग्रेसका नेता तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ, पार्टीको लुम्बिनी प्रदेश सदस्य रमेश खनाल, महासमिति सदस्य सुर्य नारायण यादव, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, बसन्तलाल कर्ण, महेन्द्र कुमार श्रेष्ठ, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, शुद्धोधनका सभापति दामोदर पौडेल, सियारीका सभापति गोपाल पाण्डे, क्षेत्रीय सह–सचिव कुल प्रसाद न्यौपाने, क्षेत्रीय सदस्य केशव अधिकारी, सिद्धार्थनगर नगरपालिका–४ का सभापति नरेन्द्र प्रसाद रौनियार, १२ का सभापति हरिराज विष्ट, तिलोत्तमा–१४ का सभापति चुरामणी भूषाल, बुटवल उपमहानगरपालिका–१७ का सभापति बाबुराम घिमिरे, तिलोत्तमा–१४ का वडा अध्यक्ष नारायण ढकाल लगायतले जेन्जी प्रदर्शनबाट पाठ लिदै वर्तमान चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने भनाइ राख्नुभएको थियो ।
कांग्रेस रुपन्देही–३ (ख) का सभापति घनश्याम चालिसेको स्वागत, क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालको धन्यवाद ज्ञापन तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij