२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

विगतमा एमालेले लिएका निर्णय र गरेका कामको गम्भीर समीक्षा हुनेछ : विष्णु पौडेल

शुक्रवार , आश्विन ३, २०८२

  • 448
    Shares
  • 448
    Shares
  • भैरहवा, ३ असोज । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने बताउनुभएको छ । उहाँले व्यक्तिगत रुपमा आफ्नोतर्फबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्नुभएको छ ।

    संविधान दिवसको अवसरमा शुभकामना दिदै उपाध्यक्ष पौडेलले भन्नुभयो– ‘अब हाम्रो सामु जनतासँग, विशेष गरी एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवा शक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ । तदअनुरुप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिर्वतन हुने विश्वास व्यक्त गर्दछु ।’

    उहाँले जनताको विशेष गरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टी र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवं सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेन्जी आन्दोलनका मुख्य कारकहरु भएको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनका नाममा भएको हत्या–हिंसा, तोडफोड र आगजनी पनि त्यतिकै निन्दनीय भएको बताउनुभयो । जेन्जी आन्दोनका शहीदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा उहाँले समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

    ‘प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रीपरिषदबाट शान्ति र अमनचयन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजी क्षेत्रका संरचनाहरुको पुर्ननिर्माण गर्न र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने जस्ता महत्वपूर्ण अभिभारा पूरा हुन सकुन् भन्ने अपेक्षा गर्दछु, ’उहाँले भन्नुभयो ।

    नेता पौडेलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबीन गर्न, दोषीहरुलाई कानून बमोजिम कारवाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरुको यथाशिघ्र पुर्ननिर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

    ‘विगतका अनुभवबाट शिक्षा लिदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिन सकौं । आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सकौं । सबैमा संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु, ’पौडेलले भन्नुभयो ।