२०८२, कार्तिक ८ गते

Oct 25 2025 | २०८२, कार्तिक ८ गते

म कर्मचारी, सेवाग्राहीले के चाहन्छन् हामीबाट

सोमवार , आश्विन ६, २०८२

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • आज म कार्यालयमा १० बजेर १५ मिनेटमा पुगे, बाहिर सेवाग्राहीहरुको भिडभाड थियो । कोठामा एसी खुलेको थियो, पंखा चलिरहेको थियो । घुम्ने कुर्चिमा गएर बसे र सोच्नथाले म यो कार्यालयको प्रमुख हुँ ठुलो मान्छे हुँ भनेर । आफ्नो सफलताको प्रशंसा आफैले गर्दै अलिअलि गर्व पनि महशुस गरिरहेको थिए । मैले भनेको हरेक कुरा यो कार्यालयका सबै कर्मचारीहरुले कुनै प्रतिवाद नगरिकन मान्नुपर्छ भनेर अहमता पनि छ म मा, आफ्नो परिवारको बारेमा सोचिरहेको थिए श्रीमतिले मैले भनेको जस्तो गर्दिनन, केटा केटीहरुले भनेको मान्दैनन, आफु खुशि गर्छन भनेर दिक्कमान्दै यो संसारमा म जति दुःखि कोही छैन भन्दै म आफ्नै कल्पनामा हराईरहेको थिए । त्यत्तिकैमा १ जना बृद्ध महिला सेवाग्राही हातमा कागजपत्र लिएर मेरो कोठामा छिर्नुहुन्छ र मलाई नमस्ते सर भन्नुहुन्छ ।

    मैले पनि नमस्ते फर्काउदै उहाँलाई टेबल अगाडी रहेको सोफामा बस्नुस भनेर हातले ईसारा गरे । त्यसपछि मैले सोधे के कति कामले आउनु भयो भनेर, उहाँले सोफाबाट उठेर आफ्नो हातमा भएको कागजपत्र मलाई दिएर फेरी सोफाम ागएर बस्नुभयो । म चाहि उहाँले दिएको कागजपत्र हेर्न थाले, उहाँचाहि मेरो अनुहारमा एकनासले हेरिरहनु भएको थियो । अलिथकित र त्रसितमुद्रामा कुनै कागजपत्र मिलेन भनेर मैले उहाँको काम गरिदिन्न कि भनेर नभन्दै उहाँले अधुरो कागजपत्र लिएर आउनु भएको रहेछ । मैले उहाँलाई भने तपाईले हामीलाई चाहिने कागजपत्र लिएर आउनु भएको छैन पुरा कागजपत्र लिएर आउनुस । त्यसपछि उहाँले सोध्नुभयो बाबु कुनकुन कागजपत्र लिएर आउनुपर्छ ? अझै मैले पनि उहाँलाई आवश्यक कागजपत्रको बारेमा जानकारी गराए र छिटो लिएर आउन अनुरोध गरे ।  जति छिटो कागज लिएर आउनुहुन्छ त्यति नै छिटो हजुरको काम हुन्छ भनेर भने । त्यत्तिकैमा सदाको झै कोठामा चिया आयो मैले ति बृद्ध महिलालाई पनि चिया दिन भने र उहाँलाई आमा तपाई एकदम थकित देखिनु भएछ चिया पिएर जानुस भनेर अनुरोध गरे । मेरो अनुरोधलाई उहाँले पनि हुन्छ भन्नुभयो ।

    ति बृद्ध महिलाले सेतो रङ्गको धोति लागउनु भएको थियो, अनुहारमा कालो कालो दाग थियो, सायद पैदल हिडेर आउनु भएको रहेछ क्यारे, खुट्टामा धुलो टाँसिएको थियो चिया पिउने क्रममा उहाँ भोकाए जस्तो गरेर छिटो छिटो चिया पिईराख्नु भएको थियो त्यो देखेर मैले सोधिहाले आमा तपाई खाना खानु भएको छैन ? उहाँले भन्नुभयो बिहानै घरबाट निस्केको अब घर गएर खाना खाने हो । मलाई उहाँको बारेमा थप जान्ने जिज्ञासा जाग्यो, तपाई बिहानबिहानै यति थकित किन देखिनु भएको भनेर फेरी सोचे । उहाँ भोकाउनु भएको रहेछ, उहाँलाई गफमा अल्झाउनु ठिक हुदैन भनेर एक छिन म आफै अल्मलिय सोधम कि नसोधम भनेर । एकै छिन त हो, सोधम न सोध्दैमा के नै बिग्रिन्छ भनेर सोधि हाले, आमा तपाई किन यति बिहानै थकित देखिनु भएको ? मैले सोध्ने बित्तिकै उहाँले आँखाभरि आँसु ल्याउनु भयो र भन्नुभयो बाबु म सारै दुःखी छु, श्रीमान् बित्नु भयो मेरो परिवारमा म र मेरा दुईवटी छोरीहरु मात्र छन् । त्यसाम पनि एउटा छोरी त अपाङ्ग छिन् । मलाई क्यान्सर छ, अर्की छोरीलाई पनि दुई महिना अगाडी क्यान्सर देखियो । उपचार गर्ने पैसा छैन, उपचार भएन भने क्यान्सरको पिडाले शरिर दुखेर बसि सक्नु हुदैन । ती आमा यसो भनदै रुन थाल्नु भयो । म उहाँको कुरा सुनेर झसङ्ग भए, एकछिन अगाडी सम्म म यो संसारको सबै भन्दा दुःखि मान्छे थिए । अब उक्त बृद्ध महिलाको कुरा सुनेर यो संसारको सबैभन्दा दुखि मान्छे त उहाँ पो हुनुहुँदो रहेछ । यो दुःख मापन गर्ने मेसिन अथवा तराजु कहाँ होला, जुन कि कसको दुःखकति छ अथवा यो संसारमा को कति दुखि छ भनेर मापन गर्न सकियोस् ।

    फेरि उक्त बृद्ध महिलाले भन्नु भयो बाबु म यो कामको लागि ३।४ वटा सरकारी कार्यालयहरुमा गए त्यहाँ के हुँदो रहेछ भने कामै नगरि दिने परम्परा रहेछ । म जस्तो दुखि बृद्ध महिलाको काम नगर्दिएर सारै दुःखपाए । मलाई घरि १ नं. कोठामा जानुस, घरि २ नंं कोठामा जानुस । कोठामा जाँदा कर्मचारी भेटिदैनन् । उसलाई कुर्नु परे यो दिन पनि त्यसै गयो । घरि यो कागज मिलेन भोलि आउनुस घरि कर्मचारी छुट्टिमा छन् । दुई दिन पछि आउनुस भनेर मेरो कामै नगर्दिएर यत्रो ढिलो भयो धन्नै मेरो छिमेकिको छोरी खै कुन सरकारी कार्यालयमा कामगर्दा रहिछन् । उनले फोन गर्दिएपछि मेरो काम तुरुन्तै भयो यस्तो छ हाम्रो देशको सरकारी कार्यालयहरुको हालत जसको माथिल्लो निकायमा आफ्नो मान्छे छन् ठुला ठुला मान्छेहरुसँग चिनजान छ उनिहरुको काम तुरुन्तै हुने हामी जस्तो गरिब, बोल्न नसक्ने मान्छेको काम नहुने हो त बाबु ..? भनेर मलाई प्रश्न गर्नुभयो ।

    मैले उहाँको प्रश्नको जवाफ दिन सकिन किनकी म आफै पनि कुनै सरकारी कार्यालयको कार्यालय प्रमुख हु, मेरा कार्यालयमा पनि त्यस्तै भईरहेको छ । कि अथवा म आफैले पनि त्यस्तै गरिरहेछु, किभनेर मलाई लज्जास्पदबोध भयो उहाँको प्रश्नको जवाफ दिन सकिन र चुप बसिरहे मलाई त्यसरी चुपचाप बसेको देखेर उहाँले भन्नु भयो ‘बाबु मलाई पढ्न लेख्न आऊँदैन भनेर मेरो परिचय सोध्नुभयो मैले आफ्नो परिचय दिए बाबु तपाई थारु समुदायको हुनुहुन्छ, तपाई ईमान्दार मान्छे हुनुहुन्छ होला, थारु समुदायका मानिसहरु सोझा हुन्छन्, मलाई तपाईको बोलि बचनबाट थाह भईसक्यो तपाई यस कार्यालयको हाकिम हुनुुहुन्छ, तपाईको प्रगति देखेर म एकदमखुसि छु सायद मेरो ठुली छोरी पनि अपाङ्गनभएको भएतपाई जस्तै हुन्थिन् होला । तपाई कर्मचारीहरु सफा सुग्घर कोठामा बसेर कामगर्नुहुन्छ, कम्प्युटर चलाउनु हुन्छ, घुम्ने कुर्चिमा बस्नुहुन्छ, समय भएपछि नास्ता चिया पानी टेबुलमै आउँछ, ए.सि.मा बस्नु हुन्छ, राम्रा राम्रा पोशाक लगाउनुहुन्छ हेर्द खेरी आकर्षक व्यक्तित्व देखिनु हुन्छ, तर तपाईहरुको सोच चाँहि किन हो हामी सेवाग्राहिप्रति फोहोर तथा नकारात्मक छ, तपाईहरुलाई केहि कुरा सोध्यो भने बोल्नै गाह्रो मान्नु हुन्छ, बोलि हाल्नु भयो भने रुखो बोल्नु हुन्छ, तपाईहरुलाई त्यहि सिकाईन्छ कि अझ मुस्कान सहितको सेवा तथा शुसासनका कुरा गर्नुहुन्छ ।

    वास्तवमा भन्ने हो भने तपाईहरु अहमताको रोगि हुनुहुन्छ । हामी कर्मचारी ठुलो मान्छे हौ भनेर तपाईहरुमा अहमताले जरो गाडेको छ, हाम्रो काम नगरिदिएर आफ्नो सामुन्नेबाट छिटो भगाउन खोज्नु हुन्छ, आफ्नो व्यक्तित्व जस्तै सोँच पनि सफा र सकारात्मक किन बनाउनु हुन्न तपाईहरु, भगाउनै छ भने हामी सेवाग्राहीको काम छिटो गरिदिएर भगाउनुस । हाम्रो काम भईदिएको खण्डमा हामीहरु तपाईहरुलाई दुःखदिन आउदैनौ, घरि एउटा कोठा घरि अर्को कोठा भन्दै दौडाउनु हुन्छ । सेवाग्राहीलाई समान प्रकृतिका सेवाहरु एकै ठाऊँबाट सेवा प्रवाह गर्ने व्यवस्था किन गराउनुहुन्न ? तपाईहरु जसले गर्दा तपाई सेवा दिनेलाई पनि सजिलो हामी सेवा लिनेलाई पनि सजिलो होस । आखिर तपाईहरुले पाउने तलब पनि त हामी सेवाग्राहीले तिरेको करबाट नै आउँदो रहेछ । 

    तपाईहरु धर्मकर्म गर्नु हुन्छ, परिवारमा राम्रो होस, सुख समृद्धि छाओस भनेर भगवानलाई खुसी पार्न मन्दिर जानु हुन्छ तर तपाई कर्मचारीहरुले यो कुरा किन बुझ्नु हुन्न कि तपाई कर्मचरीहरुको सबैभन्दा ठुलो धर्म त कार्यालयमा काम लिएर आउने सेवाग्राहीको काम सजिलै सँग छिटो छरितो गरिदिएर उनिहरुलाई सन्तुष्ट पारेर प्रशंसा गर्ने अथवा आर्शिबाद दिने गराउनुस् । उहाँले यसो भन्दै अलि आवेसमा आउनुभयो र भन्नुभयो तपाईले आफ्नो कार्यालयमा मैले भने जस्तै गराउनुस, तपाईलाइ आफु र आफ्नो परिवारको सुख समृद्धि खोज्न मन्दिर जानु पर्दैन । हामी जस्तो बृद्ध गरिब सेवा ग्राहिले दिएको आर्शिबाद बाटै आउँछ भन्दै ल हुन्छ बाबु मैले कार्यालयहरुमा काम परेर जाँदा भोगेका कुराहरु तपाई समक्ष पोख्ने मौका पाएँ त्यसको लागि धेरै धेरै धन्यवाद । अपुग कागजपत्रहरु म भोलि लिएर आउँछु भनेर उहाँ बिदा हुनुभयो । बिहान म कार्यालय आउँदा आफुलाई यो संसारको सबै भन्दा दुःखि मान्छे सम्झिन्थे । यो कार्यालयको कार्यालय प्रमुख हो भनेर अहमता पनि थियो म मा तर ति बृद्ध महिलासँग कुरा गरिसकेपछि सोच्न बाध्यभए म हामी किन त्यस्तो गर्र्छौ त, जुन सेवाग्राही आफै कार्यालयमा उपस्थित भएर नियमपुर्वक सेवालिन आएका हुन्छन्, उहाँहरुलाई वास्ता गर्दैनौ सेवा दिनमा आलटाल गर्छौ । कुनै ठुलाबडाका फोन आयो अथवा कतैबाट सिफारिस आयो भने उनिहरुको काम ईमर्जेन्सी सम्झेर ५ मिनेटमै गरिदिन्छौ । यसबाट कस्तो परमपराको विकास भैसकेको छ भने सहजै देखाउछ । 

    जसको माथिल्लो निकायमा मान्छे छन् जो पहुँचवाला छ, उसको काम छिटो छरितो तरिकाले हुने, जसको माथिल्लो निकायमा आफ्ना मान्छे छैनन्, जो बोल्न सक्दैन उसले सेवा कसरी पाउने त...? सेवा प्रवाहमा एक रुपता ल्याउनु प¥यो हामी समतामुलक समानताको कुरा गर्छौ, शुसासनका कुरा गर्छौ तर यि सब कुराहरु नारामा मात्र सिमित रह्यो सेवा ग्राहीले जुन आशा र अपेक्षा लिएर कार्यालयमा आएको हुन्छ कर्मचारीले उसको आशा र अपेक्षा अनुसार राम्रो व्यवहार गरेर सेवा उपलब्ध नगराईदिएको खण्डमा कसरी शुसासनका कुरा गर्न सक्छौ, हामी यी सबै कुराहरु व्यवहारमा कहिले लागु गर्ने त...? सोच्ने बेला आएन र ?