सोमवार , बैशाख ६, २०७८
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्र्टी (जसपा) वीचको लामो समय देखिएको छलफल पछि अविश्वासको प्रस्ताव दर्ता भएको हो।
माओवादी केन्द्रका नेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै अविस्वासको प्रस्ताव दर्ता गरिएको छ।
प्रस्तावमा ४१ जना सदस्यको हस्ताक्षर रहेको नेपाली काग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खाँनले जानकारी दिए।
‘हामीसँग सरकार गठनको लागि आवश्यक पर्ने ४३ सांसद छन्। अहिले ४१ सांसदको हस्ताक्षर बुझाएका छौं।’ उनले भने। अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्। जसपाकी सांसद कल्पना पाण्डेले हस्ताक्षर गरेकी छैनन्।
८७ सदस्यीय प्रदेशसभामा दुई सदस्यलाई माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त भएकाले अहिले ८५ सदस्य छन्। नयाँ सरकार बनाउन ४३ जना सांसद आवश्यक पर्दछ। प्रदेशसभामा एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन्।



© 2026 All right reserved to khabarpatro.com | Site By : sobij