२०८३, आश्विन २७ गते

Oct 13 2026 | २०८३, आश्विन २७ गते

देशविरुद्ध कुनै काम भए जनमुक्ति टुलुटुलु हेरेर बस्दैन : अध्यक्ष सुर्यवंशी

सोमवार , आश्विन २६, २०८३

  • 70
    Shares
  • 70
    Shares
  • भैरहवा, २६ असोज । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशव सुर्यवंशीले देश र नेपाली जनताविरुद्ध कुनै काम भए पार्टी टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । 

    आइतबार रुपन्देहीको भैरहवामा पार्टीको १५ राष्ट्रिय भेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष सुर्यवंशीले भ्रष्टाचारी देशद्रोही भएकाले भ्रष्टाचारीलाई कडा सजाय हुनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार आर्थिक अपराध नभइ राष्ट्रिय अपराध भएको बताउनुभयो ।

    उहाँले वर्तमान सरकारले चुनावमा गरेका प्रतिवद्वता पूरा गर्ने संकेत नदेखिएको बताउनुभयो । ‘चुनावमा जनतासामु जुन वाचा गरेर मत मागिएको थियो । ती वाचा पूरा गर्ने कुनै संकेत देखिएको छैन । उहाँले भन्नुभयो–‘सरकारको अहिलेसम्मको गतिविधि, उनीहरूको ज्ञान र अनुभवले पनि ती वाचा पूरा हुन सक्ने सम्भावना छैन ।’

    संघीयताको कुरा उठाउने पहिलो पार्टी राष्ट्रिय जनमुक्ति पार्टी भएको दावी गर्दै उहाँले संघीयताको पूर्ण कार्यान्वयन, भ्रष्टाचारको अन्त्य पार्टीको मुख्य एजेण्डा भएको बताउनुभयो ।

    विगतका सरकारहरूले संघीयताको पूर्ण कार्यान्वयन गर्नेतर्फ चासो नदेखिएको र पर्तमान सरकारले पनि त्यसको कार्यान्वयनमा चासो नदेखिएको उहाँले बताउनुभयो । अध्यक्ष सुर्यवंशीले संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न केले छेक्यो भन्दै प्रश्न गर्नुभयो । उहाँले दुईतिहाई बहुमतप्राप्त सरकारले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेको बताउनुभयो । २०७२ सालको संविधान अपूर्ण रहेको भन्दै उहाँले संविधान संशोधन नभइ  पुनर्लेखन हुनुपर्ने माग गर्नुभयो ।

    पार्टीका महासचिव तथा भेला तयारी समितिका संयोजक टोप अस्लामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका उपाध्यक्ष डकेन्द्रसिं थेगिम, राष्ट्रिय महिला मोर्चा अध्यक्ष तथा पार्टीका उपाध्यक्ष होमाया गुरूङ, पार्टीका उपाध्यक्ष तथा पूर्व गोर्खा सैनिक संगठनका अध्यक्ष क्याप्टेन भिमबहादुर राना, पार्टीका सचिव तथा राष्ट्रिय मुस्लिम परिषदका महासचिव मोजीब अली, अर्का सचिव गीता सारू, पार्टीका उपमहासचिव तथा प्रवक्ता चेतबहादुर आले, राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरूङ, कोशी प्रदेश इञ्चार्ज गजेन्द्र आङ्बुहाङ, सुदुरपश्चिम इन्चार्ज तिलक शाही, राष्ट्रिय थारू मञ्चका संयोजक रेखा प्रसाद चौधरी, जनमुक्ति युवा संघका केन्द्रीय संयोजक शंकर गाहालगायतले बोल्नुभएको थियो ।