२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड

आइतवार , आश्विन २६, २०८२

  • 517
    Shares
  • 517
    Shares
  • भैरहवा, २६ असोज । किराना तथा प्लाष्टिक व्यवसायी संघ भैरहवा, रूपन्देहीले शनिबार शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । भैरहवामा भएको सो कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायीहरूबीच आगामी योजनाबारे छलफल गरिएको थियो । कार्यक्रममा सहभागी व्यवसायीहरूले संघको आगामी योजनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

    कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष सचिन रोक्काले संघले छोटो समयमा नै सामाजिक कार्यमा उल्लेखनीय काम गरेको बताउनुभयो । उहाँले संस्थालाई अझ मजबुत बनाउन सबै सदस्यको सक्रिय भूमिका जरुरी भएको बताउनुभयो । अध्यक्ष रोक्काले व्यवसायीबीच एकता र सहकार्य रहे संघले अझ ठूलो सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    संघका अध्यक्ष टंक पौडेलले नगरको सरसफाइलाई संघले प्रमुख प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले व्यवसायीका हकहितका लागि संघ निरन्तर काम गरिरहेको बताउँदै सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    संघका सचिव झबिन्द्र प्रसाद बेल्बासेले स्थापना कालदेखि नै संघले व्यवसायीका समस्या समाधान र हितका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले सबै सदस्यबीच सहकार्य र समझदारी रहे संघले अझ राम्रो काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा माधव कोइराला, विजय पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष कपिलदेव काफ्लेको स्वागत मन्तव्य तथा सचिव झबिन्द्र प्रसाद बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।