२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

टुगा आस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न

आइतवार , आश्विन २६, २०८२

  • 733
    Shares
  • 733
    Shares
  • भैरहवा, २६ असोज ।  टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको तीनवटै एकाई बैठक सभा प्रस्तावहरु पारित गर्दै निर्णय प्रमाणित गरेको छ ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित ठुटीपिपलमा केन्द्रीय कार्यालय रहेको संस्थाले ठुटीपिपल, टुगा सेवा केन्द्र, कोटिहवा र भैरहवा सेवा केन्द्रको इकाई बैठकबाट छनौट भएका प्रतिनिधीहरुले विभिन्न १६ वटा प्रस्ताव पारित गरी माइन्यूटसहित निर्णय प्रमाणित गरेका हुन् ।

    निर्णय प्रमाणित सभासँगै संस्थाको एकीकरण पछिको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शेयर सदस्यलाई व्यवसायी मुलक र आत्मनिर्भर बनाउदै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि विभिन्न योजनाहरु अघि सारेको छ । 

    शनिबार केन्द्रीय कार्यालयमा आयोजित साधारण सभाको एकाई बैठकका प्रतिनिधिहरुको निर्णय प्रमाणित गर्ने सभा–२०८२ मा बोल्दै प्रमुख वक्ता सहकारी अभियन्ता भीम तुलाचनले रुपन्देही जिल्लाको सहकारी अभियान अग्रपंक्तिमा रहेको बताउनुभयो । उहाँले  टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो गतिलाई चुस्तदुरुस्त र पारदर्शीतालाई अगाडि बढाएको बताउनुभयो । ‘यो संस्थाले सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ, ’उहाँले भन्नुभयो । तुलाचनले ् सहकारीका सञ्चालक तथा उपसमिति, व्यवस्थापन समिति र लेखा समितिको भूमिका निष्पक्ष रुपमा गरे सहकारीमा समस्या नआउने बताउनुभयो । 

    सहकारीका अध्यक्ष डी.बी. थापाले संस्थामा २०८२ को असार मसान्तसम्म ९० करोड पुँजी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार ७ करोड ७८ लाख शेयर पुँजी, ६८ करोड २ लाख बचत निक्षेप, ६३ करोड २२ लाख ऋण लगानी, संस्थागत पूंजी ६ करोड ५१ लाख  रहेको यो संस्थामा १ हजार ६७ जना बाल सदस्य समेत रहेका छन् ।

    संस्थाका सचिव गोकुल पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल, सल्लाहकार लक्ष्मण कुमार थापा, जीत बहादुर रासकोटी, शेयर सदस्य विजय थापा लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा शेयर सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । २० वर्ष अगाडि स्थापित ३ वटा सहकारी ६ वर्षअघि एकीकृत भएको थियो । एकीकरणपछि जिल्लाभर कार्य क्षेत्र रहेको सहकारीमा हाल ७ हजार १ सय ७८ सदस्यहरु छन् ।