२०८२, आश्विन ३१ गते

Oct 17 2025 | २०८२, आश्विन ३१ गते

मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक : यस्ता आए सुझाव

बिहिवार , आश्विन ३०, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • रुपन्देही जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक सम्पन्न भएको छ । बिहीबार भैरहवामा सम्पन्न बैठकमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय लगायतले विभिन्न सुझावहरु दिएका छन् ।

    उनीहरुले धेरै मतदाता भएका वडाहरुमा मतदानस्थल तथा मतदान केन्द्र थप्नुपर्ने, दोहोरो नाम भएका मतदाताहरुको एक स्थानमा कायम गर्नुपर्ने, मृत्य भइसकेको मतदाताहरुको मतदाता नामावलीबाट नाम हटाउनुपर्ने लगायतका सुझाव दिएका हुन् । धेरै मतदाता रहेका वडामा मतदान प्रक्रिया व्यवस्थित गर्न कठिनाइ आउने गरेको सहभागीहरुको भनाइ छ ।

    कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदानस्थल, मतदान केन्द्रको संख्या, स्वरुप लगायतका विषयमा निर्वाचन आयोगसँग समन्वय गरिने बताउनुभयो । उहाँले बैठकमा उठेका कुराहरु निर्वाचन आयोग समक्ष पुर्याउने बताउनुभयो । त्रुटीरहित मतदाता नामावली प्रकाशन तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगसँग समन्वय गरिने उहाँको भनाइ छ ।

    कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जिल्लामा हाल २०८ मतदानस्थल र ७०२ वटा मतदान केन्द्र रहेको बताउनुभयो । उहाँले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा सबैभन्दा बढी १६ हजार ५ सय ३८ जना मतदाता रहेको जानकारी दिनुभयो । अर्यालका अनुसार रुपन्देहीमा २०८२ कार्तिक १७ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाता विवरण अन्तर्गत ३ लाख ३० हजार ७ सय ४१, महिला ३ लाख १३ हजार ६ सय र अन्य ८ गरी ६ लाख ४४ हजार ३ सय ५६ जना मतदाता रहेका छन् । २०८२ असोज १० देखि मतदाता दर्ता तथा अधावधिक (त्रुटी सच्याउने र ठाउँ सारी गर्ने) कार्य सुरु भएको र यो कार्तिक ३० गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्री, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्याल, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया बरई, कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी, बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्री, नेकपा (एमाले) का नेता डिजाइन थापा, रास्वपाका मधु प्रसाद अर्याल, राप्रपाका शंकर खत्री, नेकपा (एकीकृत समाजवादी) का राम बहादुर बस्नेत, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पंकज राई, नेकपा (विप्लब) का विरेन्द्र सी लगायतले बोल्नुभएको थियो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी जिल्लामा रहेका मतदानस्थलहरुमा विगतको निर्वाचनको अनुभवको आधारमा पुनरावलोकन गर्नुपर्ने भएमा उपयुक्त आधार र कारणसहित पुनरावलोकन गरी मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि वा उल्लिखित आधार मापदण्ड बमोजिम वडा र जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिससहित २०८२ कार्तिक मसान्तसम्म आयोगमा पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिने निर्वाचन आयोगले निर्णय गरेको छ ।