२०८२, कार्तिक १ गते

Oct 18 2025 | २०८२, कार्तिक १ गते

चाडपर्वमा विपन्नलाई सहयोग गरेर उहाँहरुको मुहारमा खुसी ल्याऔं : नगरप्रमुख खाँ

शनिवार , कार्तिक १, २०८२

  • 562
    Shares
  • 562
    Shares
  • भैरहवा, १ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले चाडपर्वको बेला विपन्न परिवारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले आफूले मात्रै चाडपर्वमा मीठो खाने र राम्रो लगाउने नभइ टोलछिमेकमा भएका विपन्न परिवारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन), रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको दीपावली, छठ पर्व, नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमुख खाँले यस्तो बताउनुभएको हो ।

    ‘चाडपर्वमा छिमेकी घरमा दियो जल्यो वा जलेन, खाना खाए कि खाएनन्, यो पनि हेर्न जरुरी छ, ’उहाँले भन्नुभयो–‘आर्थिक अभावका कारण समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु पुण्यको काम हो ।’ उहाँले सहयोगले मनमा आत्मसन्तुष्टी हुने बताउनुभयो । मानव सेवा सबैभन्दा ठूलो सेवा भएकोले एक–अर्कालाई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    संविधान सभा सदस्य समेत रहनुभएका खाँले नराम्रो कुरा नगरे र सबैले राम्रो सोचे देशमा राम्रो हुने र समयमै चुनाव भइ स्थिर सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जेनजी पुस्ताले उठाएको माग जायज रहेको बताउनुभयो ।

    राजनीतिमा इमान्दारिता आवश्यक रहेको उहाँको भनाइ छ । नगरप्रमुख खाँले सबैमा सुधारको आवश्यकता रहेको बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा बिना प्रमाण जे पनि लेख्ने र कमेन्ट गर्ने प्रवृत्तिप्रति दुःख व्यक्त गर्दै उहाँले यो कार्यले समाज र देशको विकास हुन नसक्ने बताउनुभयो ।

    कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले संस्थाले व्यवसायीको हकहितसँगै सामाजिक कार्य पनि गर्दै आएको बताउनुभयो । उहाँले मौलिक संस्कृतिलाई बिर्सन नहुने बताउनुभयो । अध्यक्ष रोक्काले नेपाल सम्वत् तथा तिहार र छठपर्वको आफ्नै महत्व रहेको बताउनुभयो ।

    कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठ, पूर्वअध्यक्ष खिम बहादुर खत्री, पूर्वअध्यक्ष तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष अर्जुन कुँवर, तीनकुने टोल सुधार समितिका अध्यक्ष तुल्सीराम पराजुली, गोलीगढ आमा समूहका अध्यक्ष कमला मरासिनी, क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष मिलन बस्नेत, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय भैरहवाकी ब्रह्माकुमारी ज्योती, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन विश्वकर्मा, मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, आस्था उद्यमी महिला संघका अध्यक्ष मिनिता थापा लगायतले बोल्नुभएको थियो ।

    चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।