
सोमवार , कार्तिक ३, २०८२
बुटवल, ३ कार्तिक । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीको समाज विकास लघुवित्त वित्त संस्था लिमिटेडबीच मर्जर प्रक्रिया पूरा भएको छ ।
दुवै संस्थाबीच भएको निर्णय र सम्झौता बमोजिम एकआपसमा गाभिए पश्चात आज एकीकृत वित्तीय कारोबार सुरु भएको छ । मर्जर पश्चात संस्थाको कुल पूँजी १ अर्ब पुगेको छ ।
कुल ९८ करोड पूँजी रहेको बुटवलको ग्रामीण विकास र जम्मा २ करोड पूँजी रहेको समाज विकास यी दुई लघुवित्तीय संस्थाबीच गाभ्ने र गाभिने प्रक्रिया (मर्जर) सम्पन्न भएसँगै आइतबारदेखि एकीकृत कारोबार सुरु भएको हो । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाले एक कार्यक्रमकाबीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो ।
एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाले ग्रामीण क्षेत्रमा गरीबी निवारणका लागि बिना धितो कर्जा प्रवाह र असुली कार्य गर्दै आएका दुई लघुवित्त संस्था गाभिनु हितकर भएको दावी गर्नुभयो । उहाँले वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जरको नीतिलाई आत्मसात गरेर अघि बढ्न र वित्तीय कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबैलाई आग्रह गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले विगत ३ दशक अघिदेखि ग्रामीण क्षेत्रका कम आयआर्जन भएका महिलाहरुको आर्थिक सबलीकरणमा टेवा पुर्याउँदै आएको बताउनुभयो । उहाँले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो पुँजी र कार्यक्षेत्रलाई थप बलियो बनाउन मर्जरको योजना अघि बढाएको बताउनुभयो । ग्रामीण क्षेत्रका जनताको आर्यआर्जनमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा समेत योगदान पुर्याउने उद्देश्यका साथ काम गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका नायव कार्यकारी प्रमुख दीपक प्रसाद पाण्डेले स्वागत भाषण गर्दै लघुवित्त वित्तीय संस्थालाई सबल बनाउन कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मर्जर पश्चात थप उर्जा र उत्साहका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक मनोज कुमार खड्का, साविकको समाज लघुवित्त संस्थाका सञ्चालक सरोजकुमार महतो, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष ईश्वर लम्साल, ग्रामीण विकास लघुवित्त कर्मचारी संगठनका अध्यक्ष अमर पौडेल, कार्यक्रम सञ्चालक मधुसुदन पोखरेल लगायतले लघुवित्त क्षेत्रमा संस्थाले खलेको भुमिका र यसको प्रभावबारे चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij