२०८२, कार्तिक ५ गते

Oct 22 2025 | २०८२, कार्तिक ५ गते

नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउँछु : प्रधानमन्त्री कार्की

बुधवार , कार्तिक ५, २०८२

  • 403
    Shares
  • 403
    Shares
  • काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । 

    राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

    नेपाल संवत विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत भएको उहाँको भनाई छ । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारीभएपनि उहाँ नाफा कमाउने व्यापारी नभएको उहाँले बताउनु भयो ।

    साख्वाः एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको उहाँको भनाई छ । उहाँकाअनुसार ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो ।

    यो दिन नै नेपाल संवतको सुभारम्भको आधार भएको प्रधानमन्त्री कार्कीले बताउनु भयो । विं.सं ९३६ मा नेपाल संवतको थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।

    नेपाल संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाई छ । नेपाल संवत लोकस्तरबाट उत्पत्ति भएको र यसले लोक विरासत बोकेको उहाँले बताउनु भयो । 


    उहाँले भन्नुभयो, ‘नेपाल राष्ट्र बैकद्धारा निष्कासित गरिने नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा संवन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

    यो विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत हो । शंखधर साख्वा काठमाडौको मधुसत्तन ईलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो । तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्रै सिमित थिएन ।

    एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो । आज भन्दा ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरि ऋणको भारबाट पिडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवतको शुभारम्भ भएको आधार हो ।

    उहाँको यही अतुलनीय योगदान र सामाजिक न्यायको महान कार्यको कदर स्वरुप विं.सं ९३६ मा नेपाल संवतको थालनी गरियो । यो संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त होईन बरु एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च छ । अर्थात यो लोकस्तरबाट उत्पति भएको र लोक विरासत बोकेको संवत हो ।’ 

    प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवद्र्धन र व्यवहारिक रुपमा लागू गर्न तत्पराता देखाएको बताउनु भयो ।

    नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई वि.सं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । नेपाल संवतलाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो ।