२०८२, कार्तिक ११ गते

Oct 28 2025 | २०८२, कार्तिक ११ गते

मैले निभाएका भूमिकाको इतिहासले लेखाजोखा गर्नेछ : विनोद चौधरी

सोमवार , कार्तिक १०, २०८२

  • 439
    Shares
  • 439
    Shares
  • भैरहवा, १० कार्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, निवर्तमान सांसद् तथा उद्योगी विनोद चौधरीले आफूले निभाएको भूमिकाको इतिहास र जनताले लेखाजोखा गर्ने बताउनुभएको छ । उहाँले आफ्नो कसैप्रति गुनासो नरहेको बताउनुभयो ।

    सोमबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ बेलहानीस्थित आफ्नो निजी निवास निरीक्षणपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै चौधरीले आफूले सधैभरी आर्थिक विकासलाई राज्यको केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने कुराको वकालत गर्दै आएको बताउनुभयो । 

    ‘एउटा नयाँ जमात अब आउने निर्वाचनमा अगाडि उभिनेवाला छ, उहाँले भन्नुभयो–‘ युवाको मनमा पटक्कै भोली यो नेपाल बन्छ भन्ने कुराको आश छैन । हत्तोत्साहित मनस्थिति छ । त्यसतर्फ हामी सबै जिम्मेवार मान्छेहरुले ध्यान दिनुपर्छ भन्ने कुराको वकालत मैले सधै गरेकै हुँ ।’

    के कति हुन सक्यो, हुन सकेन भन्ने कुराको लेखाजोखा र जनताले गर्ने उहाँको भनाइ छ । आफूले जीवनभर परिवर्तन र सम्पन्न नेपालको अभिलाषा लिएर व्यवसायिक मञ्चहरुबाट र पछि नीतिनिर्माण र कार्यान्वयनको तहमा नबसीकन केही नहुने रहेछ भन्ने मान्यताका साथ राजनीतिमा प्रवेश गरेको चौधरीले बताउनुभयो ।

    ‘४५ दिनको अन्तरालमा म यो क्षेत्रमा आएर निर्वाचन लडे, एकसेएक महारथीहरुसँग, मलाई लाग्छ, त्यो बेला पनि यो मान्छे उभिदा यसले विकासको बाटोमा केही गर्छ भन्ने भावनाले नै मलाई जिताउने काम भयो, ’उहाँले भन्नुभयो । 

    चौधरीले जेनजीको चाहना र संघर्षको बाटोमा आफू पनि ३० औं वर्षदेखि हिंडेको बताउनुभयो । ‘राजनीति मलाई न नामको लागि चाहियो, न दामको लागि चाहियो, मैले जे जति गरे, एउटा सम्पन्न नेपालल नेपालीले हेर्न पाउनुपर्छ, नेपालीको न्यूनतम अधिकारी हो । ‘एउटा युवाले स्वाभिमानी भएर विश्वमा टाउको उठाएर हिंड्न पाउनुपर्छ र त्यो गर्ने जिम्मेवारी हो, ’उहाँले भन्नुभयो । आफूलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरी रहेको उहाँको भनाइ छ । 

    चौधरीले जेनजीको भावनालाई कदर गर्नुपर्ने र त्यो बिथोल्न खोज्नेहरुलाई साईड लगाउनुपर्ने बताउनुभयो । ‘एउटा नयाँ परिवर्तन नेपालमा आयो भने म भन्दा ठूलो सन्तुष्ट व्यक्ति कोही पनि हुनेछैन, म मेरो जलेको घर अगाडि उभिएर भनिरहेको छु, ’उहाँले भन्नुभयो ।

    दैनिक २ हजार ५ सय बढी नेपाली नेपाल बाहिर जाने स्थिति भएको र एक करोड नेपाली नेपालमै बस्ने स्थिति नरहनु आफूहरु जस्तो उद्यमीले १५–२० हजारलाई मात्र रोजगारी दिएर समस्या समाधान नहुने मानसिकता जन्मेको उहाँले बताउनुभयो । 

    उहाँले आफ्नो प्राणको आहूती दिने जेनजीहरुको आत्माको चिरशान्तिको कामना गर्नुभयो । चौधरी २०७९ साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।