२०८२, कार्तिक १२ गते

Oct 29 2025 | २०८२, कार्तिक १२ गते

मंसिर ३ देखि भैरहवामा सातौं लुम्बिनी महोत्सव

बुधवार , कार्तिक १२, २०८२

  • 613
    Shares
  • 613
    Shares
  • भैरहवा, १२ कार्तिक । रुपन्देहीको भैरहवामा आगामी मंसिर ३ गतेदेखि सातौं लुम्बिनी महोत्सव–२०८२ को आयोजनामा सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) हुने भएको छ । 
    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा हुने महोत्सव हुने भएको हो ।

    महोत्सवबारे जानकारी दिन मंगलबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले २०६६ सालमा प्रथम महोत्सवबाट सुरुवात गरी २०८२ मा आइपुग्दासम्म सातौं लुम्बिनी महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

    अध्यक्ष रोक्काले लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटनको रुपमा विकास गर्ने, परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय, साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रवद्र्धन गर्ने लगायत महोत्वको उद्देश्य रहेको बताउनुभयो । उहाँका अनुसार यस वर्षको महोत्सवको आकर्षणमा फिस टनेल, जलपरी, आईफील टावर लगायत बालउद्यानको मनोरञ्जन, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

    ‘नेपालमै पहिलोपटक भियतनामबाट जलपरीको रुपमा प्रदर्शन गरिनेछ, मेलाको टिकटदर पहिले भन्दा केही थप भए पनि जलपरी, फिस टनेल देखाइनेछ, ’उहाँले भन्नुभयो । सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालन हुने महोत्सवमा टिकट शुल्क १५० रुपैयाँ तोकिएको छ । त्यस्तै विद्यार्थीका लागि ८० रुपैयाँ र समूहगत विद्यालय विद्यार्थीका लागि ५० रुपैयाँ लाग्ने अध्यक्ष रोक्काले जानकारी दिनुभयो ।
    शारीरिक अशक्त (अपांग) तथा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएका छन् । 

    चेम्बर अफ कमर्स, रुपन्देहीको महासचिव लक्ष्मी अधिकारीले संस्थामा दर्ता रही नविकरण भएका सम्पूर्ण साधारण सदस्य एवं आजीवन सदस्यहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताउनुभयो । सदस्यताको कार्ड नभएका सदस्यहरुलाई कार्यालयमा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो । 

    महासचिव अधिकारीका अनुसार महोत्सवमा २५० वटा स्टल रहनेछन् । करिब ३ लाख ५० हजारले अवलोकन गर्न महोत्सव सञ्चालन गर्न करिब १ करोड ३२ लाख खर्च हुने आयोजकले जनाएका छन् ।
    महोत्सव सञ्चालनका लागि ३५ सदस्यीय मूल आयोजक, २५ सदस्यीय विशेष सल्लाहकार र १५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

    महोत्सवको प्रवद्र्धकमा पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश र सह–प्रायोजकमा एस.आर. स्टील एण्ड एस.आर. फुड्स प्रा.लि. रहेको चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले बताउनुभयो ।