
शुक्रवार , बैशाख १०, २०७८
भैरहवा, १० बैशाख ।
रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्डित भएका पाँच जना फरार प्रतिवादीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न समयमा रुपन्देही अदालतले जरिवाना सजाएको फैसला गरेपश्चात उनीहरु फरार थिए । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी नायब निरीक्षक विजय कुमार शाही समेतको टोलीले फरार सबै प्रतिवादीहरुलाई उनीहरुको घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार सबै एउटै वडाका हुन् ।
पक्राउ पर्नेमा लागुऔषध अन्य मुद्दामा दोषी ठहरिएर दुई हजार जरिवाना सजाए भएकोे रुपन्देहीको तिलोत्तमा ७ भलवारीका पवन भन्ने विक्रम थारु र सोही स्थानको सोही मुद्दामा एक हजार जरिवाना सजाए भएको अजय बाल्मीकी भन्ने अजय हेला रहेका छन् ।
त्यस्तै भ्रष्टाचार अन्य मुद्दामा एक हजार जरिवाना सजाए भएको सोही स्थानका असई भन्ने कृष्ण बहादुर गुरुंगलाई पनि पक्राउ गरी फैसला कार्यान्यवनका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । उनका अनुसार फरार सबै प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रम जारी छ ।
यस्तै जालसाजी मुद्दामा १३ हजार रुपैयाँ जरिवाना सजाएको फैसला सुनाइएको सोही वडा जहदाका दुर्गाप्रसाद ज्ञवाली र सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ जरिवाना सजाए पाएको सोही वडा दल्काका बिनोद मुसहरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अदालतबाट सजाए पाएका र अपराधिक घटना घटाएर फरार रहेका आरोपीहरुलाई पक्राउ गर्नका लागि रुपन्देही प्रहरीले विशेष प्राथमिकतामा साथ कार्य अगाडी बढाएको छ । जसका लागि प्रहरीको ‘क्याप टोली’ लाई सक्रिय बनाईनुका साथै सबै ईलाका र चौकीका इन्चार्जहरुलाई खोजीमा खटाइएको छ ।
‘फरार रहेका अपराधीहरु समाज रहेर पुनः अपराधिक क्रियाकलाप गर्न सक्ने विषयलाई नकार्न सकिदैन’ रुपन्देहीका एसपी मनोज कुमार केसीले भने, ‘त्यसैले जिल्लामा शान्ती सुरक्षा कायम राख्न फरार अपराधीहरुलाई पक्राउ गर्न आवश्यक देखिएकोले पक्राउ गर्न सुरु गरेका हौँ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij