२०८२, कार्तिक २० गते

Nov 06 2025 | २०८२, कार्तिक २० गते

कार्यकर्ताको परीक्षा अब सडकमा हुन्छ : विष्णु पौडेल

बिहिवार , कार्तिक २०, २०८२

  • 475
    Shares
  • 475
    Shares
  • बुटवल, २० कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले कार्यकर्ताको वास्तविक परीक्षा अब बैठक र कोठामा नभइ सडकमा हुने बताउनुभएको छ । बिहीबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले आन्दोलन र जनताको पक्षमा उभिएर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने बताउनुभयो ।

    प्रतिगमनविरुद्धको आन्दोलन र प्रतिनिधिसभा पुनःस्थापनाका लागि हुने संघर्ष कार्यकर्ताको परीक्षणको घडी भएको उहाँको भनाइ छ । ‘अब परीक्षा वक्तृत्वमा होइन, व्यवहारमा हुन्छ । जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिन सक्नुपर्छ,’पुर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहनुभएका पौडेलले भन्नुभयो ।

    उपाध्यक्ष पौडेलले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनले केवल एमालेको मात्र नभइ सिंगो राष्ट्रको भविष्य निर्धारण गर्ने बताउनुभयो । उहाँले यो महाधिवेशनलाई समृद्धि र समाजवादको यात्रासँग जोडिएको ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्नुभयो । ‘हामीले देशलाई स्थायीत्व, विकास र राष्ट्रिय एकताको बाटोमा अघि बढाउने जिम्मा लिएको छौं,’उहाँले भन्नुभयो ।

    उहाँले दशौं महाधिवेशनले तोकेको मापदण्ड र पद्दलिाई कायम राख्दै प्रतिनिधि चयन गर्नुपर्नेमा पनि जोड दिनुभयो । पौडेलले पार्टीभित्र शुद्धीकरण र संगठन सुदृढीकरणको आवश्यकता औंल्याउँदै अनुशासन, एकता र विचारमा दृढता देखाउन आग्रह गर्नुभयो ।

    हाल एमाले विभिन्न पक्षबाट प्रहारको निशाना बनेको उल्लेख गर्दै पौडेलले त्यसलाई परास्त गरेर पार्टीलाई अझ सबल र जनमुखी बनाउन सबै स्तरका नेता–कार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘पार्टीमाथि भएका हरेक प्रहारलाई प्रतिरोध गर्दै हामीले जनताको भरोसा पुनःस्थापित गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

    बैठकमा उहाँले आगामी राजनीतिक कार्यक्रम, संगठन सुदृढीकरण र ११ औं महाधिवेशन तयारीका विषयमा समेत निर्देशन दिनुभएको थियो ।