बिहिवार , कार्तिक २०, २०८२
बुटवल, २० कात्तिक । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले भदौ २३ र २४ गते भएको राजनीतिक घटनाक्रमलाई देशको लोकतान्त्रिक अभ्यासमाथिको प्रतिगमन र प्रतिक्रान्तिको रुपमा व्याख्या गर्नुभएको छ ।
पार्टीको लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले सार्वभौम संसद् विघटन, जननिर्वाचित सरकार अपदस्थ र राज्यका अंगहरू निष्प्रभावी बनाइएको घटनालाई नेपालको राजनीतिक यात्रामाथिको ठुलो धक्का भन्नुभएको छ ।
‘भदौ २३ र २४ को घटना केवल राजनीतिक निर्णय थिएनन्, ती घटनाले व्यवस्थापिका र कार्यपालिका दुवैलाई खरानी बनाए,’उहाँले भन्नुभयो–‘अग्रगामी होइन, पूर्णतः पश्चगामी कदम हो ।’ अर्यालका अनुसार उक्त घटनाबाट मुलुकको संस्कृति, राजनीतिक मूल्य र इतिहासमाथि आक्रमण भएको छ, जसले जनताको विश्वास कमजोर बनाएको छ । उहाँले अहिलेको आन्दोलनलाई ‘पछाडि फर्काउने प्रयास’ को रुपमा चित्रण गर्दै त्यसलाई प्रतिक्रान्ति भन्नुभयो । ‘आजको आन्दोलनले मुलुकलाई अघि होइन, दशकौं पछाडि फर्काउन खोजिरहेको छ,’उहाँले भन्नुभयो–‘त्यसैले यस अवस्थामा कार्यकर्ता बहकिनुहुँदैन, स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक छ ।’
अर्यालले कार्यकर्ताहरूमाझ राजनीतिक स्पष्टता र वैचारिक दृढताको आवश्यकता औंल्याउँदै भन्नुभयो–‘भदौ २३ गते दिउँसो १ बजेसम्मको आन्दोलन र त्यसपछि भएका घटनालाई फरक ढंगले बुझ्नुपर्छ । त्यो मोडबाट देशले जनताको अधिकार र संवैधानिक लोकतन्त्रमा ठुलो ह्रास देखेको छ ।’
उहाँले एमालेलाई लोकतन्त्र, सुशासन र विकासको जिम्मा बोकेको एकमात्र शक्तिका रूपमा परिभाषित गर्दै सुशासन कायम गर्ने एजेण्डा पार्टीको मुख्य अभियान रहेको बताउनुभयो । ‘हामीले जनतासँग गरेको वाचा सुशासन हो, जनजीविकाका मुद्दा उठाउने हाम्रो प्रतिवद्धता हो,’अर्यालले भन्नुभयो–‘एमालेले नै जनताको प्रश्नलाई संस्थागत रूपमा बोकेको छ ।’
सचिव अर्यालले पार्टीभित्र संगठनात्मक एकता र राजनीतिक सचेतनाको सुदृढीकरणमा जोड दिदै अहिलेको राजनीतिक परिस्थितिमा भावनामा नभइ विवेक र दृष्टिकोणमा आधारित भएर अघि बढ्न आग्रह गर्नुभयो ।
बैठकमा उहाँले लुम्बिनी प्रदेशका जिल्ला कमिटी, जनसंगठन र महिला नेतृहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिदै भदौ २३ र २४ को घटनाले दिएको चेतावनीलाई पार्टीले आत्मसात् गर्नुपर्ने बताउनुभयो ।देशलाई पुनः स्थायीत्व र समृद्धिको बाटोमा फर्काउने जिम्मा एमालेकै काँधमा आएको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij