शुक्रवार , कार्तिक २१, २०८२
बुटवल, २१ कार्तिक । नेकपा (एमाले) ले रुपन्देहीको बुटवल उपमहानगर कमिटी अन्र्तगत रहेका १९ वटा वडा कमिटी र हाटबजार क्षेत्रमा कार्तिक २२ गते भेलाको तयारी गरेको छ । एमाले केन्द्रीय कमिटीको सर्कुलर र उपमहानगर कमिटीको निर्णयअनुसार एकैपटक एकै समयमा सबै वडामा यस्तो कार्यक्रम तय गरिएको उपमहानगर कमिटी अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो ।
पार्टी केन्द्रले संविधानविपरीत प्रतिनिधि सभा विघटन गरेर अहिलेको सरकार बनाइएकाले संसद पुनःस्थापनाबाट मात्रै अहिलेको समस्याको समाधान हुने, देशैभर एमालेका कार्यालय तथा नेताहरुका घर छानीछानी जलाउने, तोडफोड गर्ने र सरकारी संरचनामा आगो लगाउनेहरुविरुद्ध कारवाहीको माग गर्ने र यो अवस्थामा भइरहेको चलखेलका विषयमा पार्टीका धारणा सार्वजनिक गर्न देशैभर भेला र जनप्रदर्शन गर्न सर्कुलर गरेको छ ।
त्यसैलाई आधार मानेर बुटवलमा भेलाको तयारी भइरहेको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा रहेका केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी तथा विभागमा रहेका पदाधिकारी तथा सदस्यहरुले ती भेलामा सम्बोधन गर्ने गरी कार्यक्रम तय भएको छ ।
पहिले वडा भेला सकेर जिल्ला तथा प्रदेश र अन्तिममा काठमाडौंमा प्रदर्शन तयारीका लागि एमालेले सबै कमिटीलाई सर्कुलर गरेको छ । अहिले सबै नेताहरु आफ्नो आफ्नो क्षेत्रमा यसका लागि खटिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij