२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

ढुवानी व्यवसायी समिति रुपन्देहीको अध्यक्षमा अनिल श्रेष्ठ

सोमवार , कार्तिक २४, २०८२

  • 94
    Shares
  • 94
    Shares
  • बुटवल, २४ कार्तिक । ढुवानी व्यवसायी समिति, रुपन्देहीको १९ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अनिल श्रेष्ठको अध्यक्षतामा ढुवानी समितिको नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

    निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि मतदान भएको थियो । अन्य सबै पद निर्विरोध भएको निर्वाचन समितिका संयोजक अधिवक्ता पदम बहादुर कार्कीले जानकारी दिनुभयो ।
    समितिको अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी परेको थियो । जसमा अनिल श्रेष्ठ २० मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका प्रतिष्पर्धी कमलराज ढुंगाना र माधव प्रसाद आचार्यले १७÷१७ मत प्राप्त गर्नुभएको थियो । 

    त्यसै गरी वरिष्ठ उपाध्यक्षमा शंकर प्रसाद लम्साल २९ मत प्राप्त गरी विजयी बन्नुभयो भने उहाँका प्रतिष्पर्धी रामप्रसाद गैरेले २४ मत प्राप्त गर्नुभयो । समितिको प्रथम उपाध्यक्षमा विकास शार्म आचार्य, द्वितीय उपाध्यक्षमा भूमिराज गैरे, महासचिवमा उज्जवल केसी, सचिवमा झविन्द्र थापा र कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विष्णु घिमिरे, अनिल भण्डारी, कृष्ण केसी र प्रदिप पन्थी चयन हुनुभएको छ ।

    यसअघि अधिवेशनको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले बुटवलको बजार संरक्षण गर्नका लागि ट्रान्सपोर्ट सिटीको अवधारणा र सवारीसाधन पार्किङको व्यवस्थापन जरुरी रहेको बताउनुभयो । उहाँले बुटवलमा निर्माण गरिएको ढुवानी ग्राम नेपालकै पहिलो र नमूना ढुवानी ग्राम भएकोले त्यसलाई व्यवस्थित बनाउनका लागि नगरपालिका सधै गम्भिर बन्ने धारणा राख्नुभएको थियो । प्रमुख पाण्डेले ढुवा ग्राम पहुँचमार्गमा देखिएका समस्या समाधानका लागि स्थानीयबासीहरुसँगको सहकार्यमा जोड दिदै सानातिना विषयमा नअल्झन सबैसँग आग्रह गर्नुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल, ढुवानी व्यवसायी महासंघ, नेपालका केन्द्रीय अध्यक्ष माधव नेपाल, नेपाल चेम्बर अफ कर्मस म्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेल, वडा नम्बर १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, पूर्व वडा अध्यक्ष टंकप्रसाद पराजुली, समितिका संस्थापक अध्यक्ष हुताशन रेग्मी, ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अच्यूत रेग्मी, समितिका पूर्व अध्यक्ष श्यामराज हमाल लगायत बोल्नुभएको थियो ।

    सो अवसरमा संस्थागत अवधारणा राख्दै अध्यक्ष जीतबहादुर भाटले ढुवानी व्यवसायीसँग सम्बन्धित समस्याहरुलाई समाधान गर्न र व्यवसायलाई उपभोक्तामुखी बनाउने विषय सधै प्राथमिकतामा राखिएको बताउनुभयो । ढुवानी क्षेत्रका नीतिगत र व्यवहारिक समस्याहरुको सही र व्यवस्थित समाधान नगर्दासम्म व्यवसायले गति लिन नसक्ने बताउँदै नेपालकै नमूना ढुवानी ग्रामको बाँकी काम सक्न आग्रह गर्नुभयो ।
    उहाँले भूकल्प र कोभिडका कारण खस्किएको अर्थतन्त्रमा पछिल्ला दिनमा केही सुधारका लक्षणहरु देखिन थालेको स्थितिमा जेनजीको आन्दोलनले नराम्रो धक्का हानेको स्मरण गराउँदै त्यसले ढुवानी व्यवसाय प्रत्यक्ष मारमा परेको गुनासो गर्नुभयो ।

    समितिका अध्यक्ष जितबहादुर भाटको अध्यक्षता, महासचिव कमलराज ढुंगानाको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष माधव प्रसाद आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा ढुवानी ग्राम निर्माणमा योगदान गरेका भन्दै टंकप्रसाद पोखरेल र टंकप्रसाद पराजुलीलाई सम्मान गरिएको थियो भने पत्रकारिता सम्मान पुरस्कारबाट सुमन अधिकारीलाई सम्मान गरिएको थियो । त्यसै गरी समितिका पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो ।