बुधवार , कार्तिक २६, २०८२
भैरहवा, २६ कार्तिक । रुपन्देहीको भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) लाई सफल बनाउन साथ र सहयोग रहने शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आगामी मंसिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा हुने महोत्सवलाई सफल पार्न आयोजकलाई साथ र सहयोग रहने प्रतिवद्धता जनाएका हुन् ।
आयोजकले भैरहवामा आयोजना गरेको शैक्षिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँगको बैठक तथा छलफल कार्यक्रममा उनीहरुले महोत्सवलाई सफल बनाउन सबैको साझा जिम्मेवारी रहेको बताएका हुन् ।
कार्यक्रममा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले महोत्सव उद्घाटन अघि निकालिने र्यालीलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
रुपन्देही क्याम्पसको क्याम्पस प्रमुख मन्जु खनालले मेला सफल पार्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले महोत्सवमा हुने खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले महोत्सवमा शैक्षिक प्रदर्शनी राख्नुपर्ने बताउनुभयो । उहाँले यहाँका विद्यालय र विद्यार्थीहरुको उपलब्धीबारे प्रदर्शन गर्न सकिने बताउनुभयो । काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले महोत्सवमा धेरै भन्दा धेरै दर्शक जाने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष समसाद इद्रिसीले खेलकुद, चित्रकला, लोक नृत्य प्रतियोगिता, नेपाली भेषभुषाको प्रदर्शनीबारे ध्यान दिन आयोजकलाई आग्रह गर्नुभयो । उहाँले नृत्य प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउन आग्रह गर्नुभयो । विद्यार्थीहरुलाई महोत्सव अवलोकनका लागि प्रेरित गरिने उहाँको भनाइ छ ।
मन्टेश्वरी मेमोरियल स्कूलका प्रिन्सिपल धर्मेन्द्र कुमार मिश्रले र्यालीलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले र्यालीमा सहभागी हुने विद्यार्थी संख्या तोक्न आग्रह गर्नुभयो । बृहस्पति माविका प्रिन्सिपल गोमा आचार्यले महोत्सवमा विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।
रुपन्देही लीलाराम न्यौपाने माविका प्राचार्य रुप कुमार रायमाझीले यहाँका शैक्षिक संस्थाको बारेमा महोत्सवमा जानकारी दिने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भैरहवा नमूना माविका प्राचार्य बासुदेव पौडेलले स्थानीय कला, संस्कृतिको प्रवद्र्धन गर्ने खालका कार्यक्रम महोत्सवमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले महोत्सवको अवलोकन गर्न विद्यार्थीहरुलाई पठाइने बताउनुभयो ।
ब्राईट स्टार ईङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल एल.बी. रौतारले महोत्सव सफल पार्नका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो । साई ग्लोबल माविका प्राचार्य लक्ष्मण ज्ञवालीले र्यालीको दुरी कम गर्न आग्रह गर्नुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले महोत्सवमा ‘शैक्षिक प्याभेलिएन’ राखिने बताउनुभयो । ‘टिकट काटेर महोत्सवस्थलमा प्रवेश गरिसकेपछि टिकटदर सस्तो नै छ भन्ने अनुभुति हुनेछ, ’उहाँले भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले आफूहरुले शिक्षा क्षेत्रलाई महोत्सव दिएको बताउनुभयो । उहाँले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । चेम्बर अफ कमर्स, रुपन्देहीका सल्लाहकार तथा महोत्सवका र्याली संयोजक टीकाराम भट्टराईले महोत्सवमार्फत विद्यार्थीले धेरै कुरा सिक्न पाउने बताउनुभयो ।
संस्थाका सचिव कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा जेसीज किण्डर गार्डेन स्कूलका प्रिन्सिपल हिरा गुरुङ, मोर्डन पब्लिक स्कूलका मुकेश यादव लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij