२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

शनिबार हुने जनप्रदर्शनका लागि एमाले रुपन्देहीको तयारी तीव्र

शुक्रवार , कार्तिक २८, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • बुटवल, २८ कार्तिक । यही कार्तिक २९ गते हुने जिल्लास्तरीय जनप्रदर्शन तथा आमसभाका लागि नेकपा (एमाले) रुपन्देहीले तयारी तीव्र पारेको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना गरिने जनसभालाई ऐतिहासिक बनाउने उद्देश्यसहित सबै तयारी पूरा गरिएको पार्टीले जनाएको छ ।

    एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक सहभागीता रहनेछ । उहाँले भन्नुभयो–‘जिल्लाभरीका जनताको सहभागीताले रुपन्देहीमा ठूलो जनप्रदर्शन हुनेछ । हाम्रो मुख्य सन्देश लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा हो ।’

    कार्तिक २९ गते बिहान ११ बजे राजमार्ग चौराहाबाट सुरु हुने मार्चपाससहितको र्याली बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत हुनेछ । पार्टीका विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनाहरूलाई आवश्यक जिम्मेवारी तोकिएको छ । हालसम्म तयारीका लागि आयोजित भेला र बैठकहरू सम्पन्न भइसकेका छन् ।

    जनसंगठन समन्वय समिति रुपन्देहीका प्रमुख बाबुराम पन्थीले पार्टीका २३ वटै जनवर्गीय संगठनले त्यस दिनको जनप्रदर्शन र सभामा उत्साहपूर्ण सहभागिता जनाउने बताउनुभयो । ‘सबै जनवर्गीय संगठनलाई आवश्यक जिम्मेवारी दिइएको छ, त्यसदिनको प्रदर्शन ऐतिहासिक र भव्य हुनेछ’उहाँले भन्नुभयो ।

    जनसभामा जेनजी समुदाय, युवा तथा आम रुपन्देहीबासीलाई सहभागी हुन पार्टीले विशेष अपील गरेको छ । एमाले जिल्ला प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलका अनुसार जेनजीको आवाज र माग एमालेले मात्रै संस्थागत रूपमा बोकेर अघि बढाएको छ । उहाँले भन्नुभयो–‘ जेनजीका माग संविधान संशोधनमार्फत मात्र पूरा गर्न सकिन्छ । त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना अपरिहार्य छ, र एमाले त्यसको पक्षमा दृढ छ ।”
    सभामा पार्टीका विभिन्न नेताहरूले सम्बोधन गर्नेछन् । जनप्रदर्शनलाई संगठन सुदृढीकरण र नयाँ पुस्तामा राजनीतिक चेतना जगाउने अवसरका रूपमा लिइएको छ ।

    एमाले रुपन्देहीले जनसभालाई शान्तिपूर्ण, अनुशासित र सन्देशमुखी बनाउन सुरक्षा दल र ट्राफिक व्यवस्थापनसमेतका विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । एमाले नेतृत्वका अनुसार कार्तिक २९ को जनप्रदर्शनले रुपन्देहीमा राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा जगाउने अपेक्षा गरिएको छ ।