सोमवार , मंसिर १, २०८२
बुटवल, १ मंसिर । सामुदायिक वनको संरक्षणमा समुदायको अतुलनीय योगदान भए पनि अव्यवहारिक ऐन कानूनका कारण वन व्यवस्थापन जटिल बनेको सरोकारवालाहरूले गुनासो गरेका छन् । सामुदायिक वनको ढलापडा काठ समेत सदुपयोग गर्न नपाउँदा ठूलो मात्रामा वन पैदावार खेर गइरहेको उनीहरूको भनाइ छ । यसले समुदायलाई लाभबाट वञ्चित गरेको साधारण सभाका वक्ताहरूले बताएका छन् ।
बुटवल सामुदायिक वन उपभोक्ता समूहको १९ औँ वार्षिक साधारण सभामा वक्ताहरूले वनबाट समुदायले यथोचित लाभ लिन नपाएकोमा असन्तुष्टि व्यक्त गरेका हुन । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वनका ऐन नियमहरू व्यवहारिक नभएको स्पष्ट पार्नुभयो । उहाँले बुटवलको ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यस वनको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।
बुटवल सामुदायिक वनका अध्यक्ष बाबुराम पौडेलले वन संरक्षणमा सबैको सहयोगको आवश्यकता औंल्याउँदै यस वनको विकासले बुटवल शहरलाई स्वच्छ, हराभरा र रमणीय बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
साधारण सभाले अध्यक्षको प्रगति प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदनलाई सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका–१ का अध्यक्ष नरेन्द्र बस्नेत, २ का सुनिल शाक्य, अशोक राई, गौतमलाल शाक्य, सब डिभिजन सैनामैनाका कार्यालय रेन्जर प्रकाश भट्टराई, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दिनानाथ शर्मा लगायत उपभोक्ताहरूको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij