आइतवार , कार्तिक १५, २०८३
भैरहवा, १५ कार्तिक । रुपन्देही क्रिकेट संघको आयोजनामा आइतबारदेखि ‘एकेडेमी फ्रेण्डसीप सिरिज–२०८३’ सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु प्रतियोगिता आगामी कार्तिक २० गतेसम्म चल्ने संघका कोषाध्यक्ष धिरज अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा रुपन्देही क्रिकेट एकेडेमी र काठमाडौंस्थित हिमालयन स्पोट्र्स म्यानेजमेन्ट एकेडेमीका खेलाडी सहभागी छन् । अण्डर–१५, अण्डर–१४ र अण्डर–१२ उमेर समूहका खेलाडीबीच मैत्रीपूर्ण प्रतिष्पर्धा गराउने उद्देश्यले सिरिज आयोजना गरिएको संघका सचिव उदय कुमार मल्लिकले बताउनुभयो । सचिव मल्लिकका अनुसार दुवै एकेडेमीका खेलाडीलाई खेल अभ्यास तथा प्रतिष्पर्धाको अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले दुवै एकेडेमीका खेलाडीले एकअर्काबाट सिक्दै क्रिकेटमा थप प्रगति गरून् भन्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पर्यटन व्यवसायी तथा संघका मानार्थ सदस्य अमित कुमार गुप्ताले सानै उमेरका खेलाडीले क्रिकेटप्रति देखाएको रुची प्रशंसनीय रहेको बताउनुभयो । अभिभावकले समेत क्रिकेटलाई प्राथमिकता दिएर आफ्ना बालबालिकालाई प्रशिक्षणका लागि पठाउनु सकारात्मक पक्ष भएको उहाँको भनाइ थियो । उहाँले प्रतियोगिता आयोजना गरेकोमा रुपन्देही क्रिकेट संघलाई धन्यवाद दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले प्रशिक्षकले दिएका सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । नेपाली क्रिकेटले पछिल्लो समय उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गर्दै उहाँले पढाइलाई निरन्तरता दिँदै खेल प्रदर्शनमा समेत ध्यान दिन खेलाडीलाई आग्रह गर्नुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य अमृत भट्टराईले युवा खेलाडीका लागि प्रतियोगितात्मक खेलको अनुभव अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । जति धेरै खेल खेल्ने अवसर प्राप्त हुन्छ, त्यति नै खेलाडीले नयाँ कुरा सिक्ने उल्लेख गर्दै उहाँले यस उमेर समूहका खेलाडीले मैत्रीपूर्ण प्रतियोगिता खेल्न पाउनु खुसीको विषय भएको बताउनुभयो।
कार्यक्रममा हिमालयन स्पोट्र्स म्यानेजमेन्ट एकेडेमीका व्यवस्थापक मनिषराज पाण्डेले पनि धारणा राख्नुभएको थियो । रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष खेमराज भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
