२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

महोत्सवमा धेरै दर्शक आउने वातावरण बनाउन सुझाव

सोमवार , मंसिर १, २०८२

  • 982
    Shares
  • 982
    Shares
  • भैरहवा, १ मंसिर । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा यही मंसिर ३ देखि २१ गतेसम्म भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सवमा धेरै दर्शक आउने वातावरण बनाउन आयोजकलाई सुझाव दिइएको छ । संस्थाले आइतबार सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरस्थित महोत्सवस्थलमा आयोजना गरेको संघ–संस्थाहरुसँग सल्लाह–सुझाव बैठक (कार्यक्रम)मा यस्तो सुझाव दिइएको हो ।

    बैठकमा बोल्दै रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले महोत्सवलाई सफल बनाउन साथ र सहयोग गर्ने र सल्लह–सुझाव दिदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष मिलन बस्नेतले महोत्सवमा धेरै भन्दा धेरै दर्शक आउने वातावरण बनाउन आग्रह गर्नुभयो । ‘महोत्सव सफल बनाउन दर्शकको महत्वपूर्ण भूमिका हुन्छ, ’उहाँले भन्नुभयो–‘शनिबार मात्रै धेरै दर्शक आएर हुँदैन, मेला अवधिभर आउनुपर्छ ।’ यसका लागि विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाको क्षेत्रीय प्रमुख शान्ति सुवेदीले विगतझै महोत्सव सफल पार्न साथ रहने बताउनुभयो । उहाँले आध्यात्मिक क्षेत्रलाई पनि जोड दिन आग्रह र्गुभयो । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले भैरहवामा स्थायी मण्डप नहुँदा वर्षेनी अस्थायी संरचना निर्माणमा लाखौं खर्च हुने गरेको बताउनुभयो । उहाँले मण्डपका लागि तीनै तहको सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो । ‘व्यक्तिको जग्गामा अस्थायी संरचना निर्माण गरेर महोत्सव सञ्चालन गर्न बाध्य छौं, ’उहाँले भन्नुभयो ।

    चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले महोत्सव उद्योगी–व्यवसायीका लागि ठूलो पर्व भएको बताउनुभयो । उहाँले महोत्सवले व्यवसाय चलायमान बनाउन र उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने बताउनुभयो । महोत्सव सञ्चालनका लागि स्थायी मण्डप आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

    संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका सह–संयोजक राम मिलन यादवले महोत्सव सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

    संस्थाको महासचिव तथा महोत्सव मूल आयोजक समितिको सचिवालय संयोजक लक्ष्मी अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा सोट्टो नेपाल लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ता, पशुपति प्रसाद कान्दु, कमल कोइराला लगायतले बोल्नुभएको थियो ।