२०८२, मंसिर १ गते

Nov 17 2025 | २०८२, मंसिर १ गते

राष्ट्रिय कर दिवस: उत्कृष्ट करदाता सम्मानित

सोमवार , मंसिर १, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • भैरहवा, १ मंसिर । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, भैरहवाले शुभकामना सोमबार आदानप्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी  मेघनाथ पाध्या आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व असुली गरेर उत्कृष्ट काम गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले समाजको रुपान्तरणमा राज्यका निकायसँग स्थानीय उद्योगी–व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । राज्य र जनताको सहकार्यमा देशको विकास र समृद्धि हुने भन्दै सबैले सकारात्मक सोच निर्माण गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले सम्पूर्ण उद्योग–व्यवसायीसँग राष्ट्रिय कर दिवस–२०८२ को शुभकामना व्यक्त गर्नुभयो । उहाँले राज्यको महत्वपूर्ण अंगको रुपमा कर प्रशासन रहेको बताउँदै सबैको सकारात्मक सहकार्यले सफलता प्राप्त भएको बताउनुभयो । उहाँले आफूहरु कुनै करदातालाई घरपकड र दुःख दिने कार्य नभएको भन्दै करदाताको सहयोग र सहकार्यले चालु आर्थिक वर्षमा सरकारले दिएको लक्ष्यभन्दा बढी कर असुल गर्न सफल भएको बताउनुभयो । 

    करदाताहरुले गर्ने कुनै कमजोरीलाई कर प्रशासनले सुधार गर्नका लागि सहयोग गर्ने गरेको भन्दै सधै यहाँहरुको सहकार्यमा तयार रहेको उहाँले बताउनुभयो । प्रमुख कर अधिकृत पोख्रेलले ठूला व्यवसायीको सबै क्षेत्रमा पहँुच हुने गरेको तर, साना व्यवसायी तथा करदाताको पहुँच नभएका कारण दुःख पाएको भन्ने गुनासा आउने गरेपछि आफैले सहजीकरण गर्ने गरेको जानकारी दिनुभयो । राजस्व कार्यालयले अब कर क्यूआर कोड प्रविधिबाट बुझाउन मिल्ने प्रणालीको विकास केही महिनामा हुने बताउनुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले कर असुली गर्ने तर, उद्योगी व्यवसायीलाई राज्यले दिनुपर्ने सुविधा नभएको बताउनुभयो । उहाँले राज्यले लिने कर प्रणाली व्यवसायीको स्वेच्छिक हुनुपर्ने बताउनुभयो । राज्यले लिने करले उद्योग व्यवसायी र त्यही देशका जनताका लागि स्वास्थ्य, शिक्षा र रोजगारमा क्षेत्रमा लगानी गर्ने प्रावधान हुनुपर्ने बताउनुभयो ।

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन रुपन्देही) का अध्यक्ष सचिन रोक्काले कर तिर्न सरकारले वातावरण बनाउन जरुरी रहेको बताउनुभयो । करदातालाई सहज रुपमा कर तिर्न उत्साहित गर्न राज्यले भूमिका खेल्नुपर्ने बताउँदै उहाँले राज्य र उद्योगी–व्यवसायीले सहकार्य सधै जरुरी रहेको बताउनुभयो ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले नेपालको कर प्रणालीमा अहिले पनि सुधारको खाँचो रहेको बताउनुभयो । उहाँले कर पद्दतिलाई क्यूआर प्रणाली वा पेपरलेस प्रणालीबाट हुनुपर्ने सुझाव राख्नुभयो ।

    तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनीले  कानून र नियम धेरै भएका कारण नेपालमा उद्योगी–व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । देशले कर असुलीमा आधुनिकताको कुरा गर्दा उद्योगी–व्यवसायीलाई पनि राज्यको योजनामा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले खरिदमा मात्र नभइ खर्चमा पनि करको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

    वरिष्ठ लेखापरीक्षक शिवहरी शर्माले करलाई पारदर्शी र राजस्व प्रशासनमा कर छली नदिने कार्य सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले शुन्यबाटै राजस्व छली रोक्ने प्रयास हुनुपर्ने बताउनुभयो । उहाँले बीचमा पुगेर राजस्व छली गर्यो भनेर व्यवसायीलाई दुःख दिने गरिएको बताउनुभयो । अहिले आधुनिक युगमा समाज धेरै अगाडि पुगेको भन्दै सम्पूर्ण कुरा सिस्टममा हुनुपर्ने बताउनुभयो ।

    शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रममा नेपाल अडिटर्स एशोसियशन (अडान) रुपन्देहीका पूर्वअध्यक्ष डीआर शर्माले हिजोको समयमा कर असुल गर्ने पद्दति अनुमानका आधारमा हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समयमा  व्यवसायी र सरकारले करमैत्रीको माध्यमबाट कर असुली गर्ने गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

    कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा आयकरतर्फ सबैभन्दा धेरै आयकर दाखिला गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र अन्र्तगत पर्ने करदाता विजार्ड फ्रेग्रेन्स इण्डष्ट्रिज मायादेवी गाउँपालिका–८ लाई उत्कृष्ट करदाताको रुपमा छनोट गरी सम्मान–पत्र प्रदान गरी र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

    कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालयका कर्मचारीबीच भएको ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने कर अधिकृत सन्तोष सुवेदी र नायब सुब्बा खुमबहादुर रावतलाई प्रमाणपत्रबाट सम्मान गरिएको छ। त्यस्तै द्वितीय स्थान प्राप्त गर्ने नासु जसराज ओली र नवराज पौडेललाई पनि प्रमाणपत्रबाट सम्मान गरिएको छ ।

    कर अधिकृत नरेश पन्थीको स्वागत मन्तव्य तथा कर अधिकृत सरोज मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभाहलमा भएको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योगी– व्यवसायी, सुरक्षा निकाय, कर्मचारी लगायतको उपस्थिति थियो ।