२०८२, मंसिर २ गते

Nov 18 2025 | २०८२, मंसिर २ गते

नहुने चुनावको पछाडि लाग्नुहुँदैन : शंकर पोखरेल

मंगलवार , मंसिर २, २०८२

  • 739
    Shares
  • 739
    Shares
  • भैरहवा, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले चुनावमा भाग लिनुपर्ने भयो भने जनताले एमालेलाई साथ दिने दावी गर्नुभएको छ । उहाँले जनतामा पार्टी बलियो हुने आधार भनेकै एजेण्डा भएको बताउनुभयो ।

    सोमबार रुपन्देहीको भैरहवामा आयोजित पार्टीका नेता–कार्यकर्ताहरुसँग भेटघाट तथा छलफल कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । ‘हाम्रा एजेण्डा जनताले मन पराए भने जनता हाम्रा एजेण्डाका वरिपरी लाग्छन्, चुनावमा भाग लिनुपर्ने भयो भने तिनै जनताले हामीलाई साथ दिन्छन्, ’उहाँले भन्नुभयो–‘जसका पक्षमा जनता छन्, परिणाम उसैका पक्षमा आउँछन ।’

    चुनावको तयारीका लागि पनि ‘चुनाव चुनाव’ भनिरहनु नपर्ने उहाँको भनाइ छ । आन्दोलनको तयारी गर्ने हो भने चुनावको स्वतः तयारी हुने पोखरेलले बताउनुभयो । ‘अर्कोतर्फ चुनाव हुने कुराको सुनिश्चितता नभइकन चुनाव भन्ने कुरा हतारो हुन्छ । त्यसर्थमा आन्दोलनले चुनावको सुनिश्चितता पनि गर्न सक्छ, उहाँले भन्नुभयो–‘आन्दोलनले प्रतिनिधि सभा पुर्नस्थापनाको आधार पनि बनाउन सक्छ । यो दुवै कामका लागि जनपरिचालन अहिलेको आवश्यकता हो भन्ने कुरा महसुस गरेर जनपरिचालन गरेका छौं ।’

    उहाँले सबैभन्दा पहिले लोकतन्त्रलाई सही बाटोमा ल्याउनुपर्नेमा जोड दिनुभयो । युवाहरुका मागलाई सम्बोधन गर्नका लागि पनि प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने उहाँले बताउनुभयो । भदौ २३ र २४ गतेको प्रतिगामी घटनालाई सच्याउने बाटो भनेको प्रतिनिधि सभा पुर्नस्थापना भएको र त्यही बाटोबाट अगाडि बढ्नुपर्छ भन्ने पार्टीको मान्यता भएको उहाँले बताउनुभयो । यद्यपि नेपालका अन्य राजनीतिक दलहरु त्यो बाटोमा आउन नसकेको पोखरेलले बताउनुभयो । 

    ‘यो सरकारले चुनाव गर्छ त भन्दा हामीलाई विश्वास छैन भन्ने राजनीतिक दलहरुले बाहिर चुनावका कुरा गरिरहेका छन् । तर, हामी यो सरकारले चुनाव गर्दैन भन्ने ठानिरहेका छौं । नहुने चुनावका पछाडि लाग्नुहुँदैन, ’उहाँले भन्नुभयो ।

    लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहनुभएका नेता पोखरेलले एमाले एउटा संगठित र वैचारिक रुपमा दक्ष कार्यकर्ताहरुको पार्टी भएको नाताले प्रतिकूलतासँग सामना गर्ने आँट यसले राख्ने बताउनुभयो । ‘मंसिर २७, २८ र २९ गते हुने पार्टीको ११ औं महाधिवेशनको उद्घाटन जनपरिचालनका हिसाबले ऐतिहासिक महाधिवेशन बनाउने सोचमा छौं, ’उहाँले भन्नुभयो । 

    महासचिव पोखरेलले भदौ २३ गतेको घटना नै षडयन्त्रको हिस्सा हो भन्ने कुरालाई बुझ्नुपर्ने उहाँको भनाइ छ । भदौ २४ गते नेपाली नागरिकले गर्न नसक्ने काम गरिएको, नेपाललाई कमजोरलाई बनाउने र लोकतन्त्रका मूल्य मान्यतालाई कमजोर बनाउने हिसाबले प्रहार गरिएको उहाँको भनाइ छ । सामान्य आन्दोलनमा यस्ता घटना हुन्छ भन्ने कल्पना समेत गर्न नसक्ने उहाँले बताउनुभयो । भदौ २३ र २४ गते भएको घटनाका कारण मुलुक पछाडि फर्किएको उहाँले बताउनुभयो ।