बुधवार , मंसिर ३, २०८२
सिमरा, ३ मंसिर । एमाले नेता महेश बस्नेतलाई अवरोध गर्न बारामा जेनजीले प्रदर्शन गरेपछि काठमाडौँमा उडान प्रभावित भएको छ ।
विरोधका कारण सिमरा जाने विमानको उडान रोकिएको हो । बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका थिए ।
सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा दुई पक्षबिच झडप भएको हो ।
नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा छन् । उनीहरूलाई पनि प्रहरीले सुरक्षा दिएर राखेको छ ।
जेन–जी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । जेनजी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ ।
प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij