२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

जसपा नेपाल रुपन्देहीले २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

बुधवार , मंसिर १०, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति, रुपन्देहीले विभिन्न २८ बुँदे मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको जिल्ला अध्यक्ष सियाराम यादवको नेतृत्वमा बुधबार प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।

    संविधान संशोधन, प्रदेशहरुलाई अधिकारसम्पन्न बनाउनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने, जेनजी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका माग र मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने, विगतका आन्दोलनको बेला गठन गरिएका न्यायीक छानबीन आयोगहरुको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, किसानहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने, सिंचाई, मल खाद, बिउबिजन, किटनाशक औषधि र कृषि बजारको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो । 

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पठाउने बताउनुभयो ।

    पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाइएको जसपा नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारीले बताउनुभयो ।

    ज्ञापनपत्र बुझाउन पार्टीका केन्द्रीय सदस्य विद्या प्रसाद यादव, कैलाश गुरुङ गुरुङ, रीता यादव, सावित्रा वि.क., निलम यादव, लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादव, प्रदेश उपाध्यक्ष मोहम्मद असलम खाँ, कोषाध्यक्ष बच्चुलाल केवट, सिद्धार्थनगरका अध्यक्ष जावेद आलम, समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राहुल यादव, केन्द्रीय सदस्य विरेन्द्र यादव,कौशलेन्द्र कुमार मिश्रा लगायत नेता–कार्यकर्ता जिल्ला प्रशासन कार्यालयमा पुग्नुभएको थियो ।

    jsp nepal pic.jpg

    आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जसपा नेपालले जनाएको छ । त्यस्तै मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान गरिनेछ ।

    मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम छ । त्यसै गरी मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोधसभा तथा जनसभा आयोजना गरिने पार्टीले जनाएको छ । प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भने पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगंज र १७ गते नेपालगंज÷भैरहवामा गर्ने तय भएको छ ।