बुधवार , मंसिर १७, २०८२
भैरहवा, १७ मंसिर । वैध तरिकाले कारोबार गर्नेहरु पनि राजस्व अनुसन्धान, भन्सार कार्यालय लगायत विभिन्न सरकारी निकायबाट दुःख पाएको उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले नियमसंगत काम गर्ने व्यवसायीलाई अफ्ठयारो पार्न नहुनेमा जोड दिएका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरुले कतिपय अवस्थामा कर्मचारीको गल्तीका कारण पनि उद्योगी–व्यवसायीले दुःख पाएको बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले उद्योगी–व्यवसायीका मर्का सरकारी निकायले बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले रुपन्देहीबाट लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा खाद्यान्नलगायत सामग्री आपूर्ति हुने भएकाले एउटै गाडीमा धेरै व्यवसायिक प्रतिष्ठानका सामान पठाउने गरिएको बताउनुभयो । त्यसरी पठाउँदा कसैले त्यस्ता गाडीमा भन्सार छलीका सामान राखेको भए सम्बन्धित व्यक्तिलाई मात्र कारवाही गर्न र गाडी फिर्ता गरिदिन उहाँले आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ५२ प्रतिशत हिस्सा अनौपचारिक अर्थतन्त्रमा बिलिन भएको सुनिएको बताउनुभयो । उहाँले सरकारी निकाय र निजी क्षेत्रबीच साझेदारी र सहकार्य हुन पाए धेरै समस्याको समाधान हुने बताउनुभयो । नियत सफा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले सीमा नाकामा पर्यटकलाई दिनुपर्ने सेवा प्रदान हुन नसकेको बताउनुभयो । उहाँले एकीकृत भन्सार जाँच चौकी (आईसीपी)लाई जतिसक्दो छिटो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले नीतिनियममा रहेर नियमसंगत कारोबार गर्ने व्यवसायीलाई पनि समस्या भएको बताउनुभयो । निजी क्षेत्रले गलत कुराको ढाकछोप गर्दैन, ’उहाँले भन्नुभयो–‘नियमसंगत काम गर्ने व्यवसायीलाई अफ्ठयारो पार्नुहुँदैन ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठले कर्मचारीले गलत गर्दा उद्योगी–व्यवसायीले दुःख पाउनुपरेको बताउनुभयो । उहाँले त्यसको उदाहरण उपभोग नै नगरेको विद्युत ट्रकलाईन र डेडिकेटेड लाईन भनेर उद्योगीलाई महशुल तिराउन खोजिएको बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रहरीले नियन्त्रणमा लिएर पठाएका गाडी राजस्व अनुसन्धान कार्यालयले मुद्दा चलाउनुपर्छ भन्ने मानसिकता रहेको बताउनुभयो । उहाँले वैध तरिकाले व्यवसाय गरिरहेका उद्योगी–व्यवसायीले पनि दुःख पाएका थुप्रै उदाहरण रहेको बताउनुभयो । उहाँले भीसीटिएसको सर्भर नचलेर लोड भएका गाडी ३–४ घण्टा होल्ड गर्नुपर्दा दुःख पाइएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपानेले कतिपय खाद्यान्न र लत्ताकपडा जस्ता अत्यावश्यक वस्तुमा भन्सार मूल्य कम भए उपभोक्तालाई स्वदेशी बजारमै रोक्न सकिने बताउनुभयो । उहाँले भन्सार क्षेत्रमै राम्रोसँग चेकजाँच गरिए व्यवसायीले दुःख पाउने अवस्था नरहने बताउनुभयो ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ताले जेनजी आन्दोलनपछि प्रशासनिक निकायको शैली फरक देखिएको बताउनुभयो ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अध्यक्ष मञ्जु भुसालले जेनजी आन्दोलनपछि केही परिवर्तनको अनुभुति भएको बताउनुभयो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राधेश्याम दाहालले कुनै पनि व्यवसायीलाई दुःख दिने कार्यालयको नियत नरहेको बताउनुभयो । उहाँले नराम्रो काम गर्ने र राजस्व चुहावट गर्नेलाई संरक्षण गर्न नसकिने बताउनुभयो । ‘जसले राम्रो व्यवसाय गर्छ, बीलबिजक जारी गर्छ र राजस्व दाखिला गर्छ, त्यस्ता उद्योगी–व्यवसायीलाई दुःख दिने हाम्रो नियत छैन’उहाँले भन्नुयो-‘ अर्थमन्त्रीज्यूले पनि व्यवसायीमैत्री बन्न र राम्रा व्यवसायीलाई दुःख नदिन हामीलाई स्पष्ट निर्देशन दिनुभएको छ ।’
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले आईसीपी निर्माण भएपछि ट्राफिक व्यवस्थापन राम्रो हुने बताउनुभयो । उहाँले भन्सार राजस्वसँग मात्र नभइ आपूर्तिसँग पनि सरोकार राख्ने बताउनुभयो । पौडेलले सीमा नाकामा बसेपछि धेरै व्यवहारिक बन्न जरुरी रहेको बताउनुभयो । व्यवसायीले तस्करीबाट आउने सामान खरिद नगरे धेरै कुराको समाधान हुने उहाँको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij