२०८२, मंसिर २० गते

Dec 06 2025 | २०८२, मंसिर २० गते

६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित बिदाई

शुक्रवार , मंसिर १९, २०८२

  • 361
    Shares
  • 361
    Shares
  • भैरहवा, १९ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ६० वर्ष उमेर पुगेका तीनजना महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाई तथा सम्मान गरेको छ । २२ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुक्रबार नगरपालिकाले भैरहवामा आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई सम्मान तथा बिदाई गरिएको हो ।

    सम्मानित हुनेमा गीता कर्ण, अमिता शाक्य र विमला गुरुङ रहनुभएको छ । उहाँहरुलाई नगद ५० हजार रुपैयाँ तथा खादा लगाएर सम्मान तथा बिदाई गरिएको हो । कार्यक्रममा नगरभित्र कार्यरत अन्य महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा अधिकारीले महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्र र पालिकाको मेरुदण्ड भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा पालिकाले हासिल गर्ने प्रगतिमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । ‘प्रत्येक घरदैलोमा पुगेर काम गर्ने तपाईहरु हो, बिदाई गरिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रदान गरिएको रकम सानो हुन सक्छ,’आगामी दिनमा यसलाई वृद्धि गर्छौं, ‘उहाँले भन्नुभयो ।

    उपप्रमुख अधिकारी स्वास्थ्यभन्दा ठूलो कुरा केही नभएको बताउनुभयो । उहाँले अग्रज महिलाहरुले गरेको आन्दोलन, योगदान र उहाँहरुको कदम र सोचले आफूसहित महिलाहरु यो स्थानसम्म पुगेको बताउनुभयो । ‘हामीले अग्रजहरुलाई कहिल्यै बिर्सनुहुँदैन, उहाँले भन्नुभयो–‘महिला स्वास्थ्य स्वयंसेविकाले पनि आफ्ना अग्रजलाई सम्मान गर्नुपर्छ र सम्झनुपर्छ ।’ उहाँले आगामी दिनमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अझै भव्य रुपमा मनाइने बताउनुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले तीनै तहको सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको योगदान कदर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविका अहोरात्र नागरिकको स्वास्थ्य सेवामा खटिनुभएको बताउनुभयो ।

    नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवालीले महिला तथा बालबालिकाको क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको राज्यले सम्मान गरिरहने बताउनुभयो । ‘यहाँहरुको आज महत्वपूर्ण पर्व हो । उहाँले भन्नुभयो–‘राज्यको कम लगानी हुँदा पनि स्वतस्फूर्त यहाँहरुले काम गरिरहनुभएको छ ।’

    कम्युनिटी नर्सिङ अधिकृत गीता देवी न्यौपानेले निस्वार्थ रुपमा काम गर्नुभन्दा ठूलो पुण्यको काम अरु नभएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुले ठूलो पुण्यको काम गर्नुभएको बताउनुभयो ।

    महिला स्वास्थ्य स्वयंसेविका चित्रलेखा थापा र गीता कर्णले आफूहरुले जानेका कुरा सिकाउने र अरुलाई भनेर समुदायमै समय बिताएको बताउनुभयो ।...