२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

रुपन्देही–४ : काँग्रेसको दुई समूहबाट फरकफरक उम्मेदवार सिफारिस

बिहिवार , मंसिर २५, २०८२

  • 649
    Shares
  • 649
    Shares
  • भैरहवा, २५ मंसिर । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ बाट दुई समूहले छुट्टाछुट्टै बैठक बसेर उम्मेदवार सिफारिस गरेका छन् । बुधबार कोटहीमाई गाउँपालिका–६ स्थित मर्चवारी मन्दिर धर्मशाला र कोटहीमाई–५ थित मझगावाँमा बसेको बैठकले दुई समूहबाट नाम सिफारिस गर्ने निर्णय गरेका हुन् ।

    काँग्रेस मर्चवारी गाउँपालिका सभापति जनार्दन यादवको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा सदस्यका लागि आशुतोष मिश्र र गोपाल पाण्डेको नाम सिफारिस गरेको छ । त्यस्तै समानुपातिकतर्फ राजकुमार सिंह र अवधराम यादवको नाम सिफारिस गरिएको जनार्दन यादवले जानकारी दिनुभयो ।

    अध्यक्ष यादवका अनुसार बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तौलन मुसलमान र कृष्ण कुमारी पोख्रेल भट्टराईको नाम पनि उम्मेदवारको रुपमा सिफारिस गर्ने निर्णय गरेको छ । 

    लुम्बिनी प्रदेश सभा सदस्य तथा बैठकका प्रमुख अतिथि वसीउद्दीन खाँले मर्चवार अब स्थानीय हितलाई केन्द्रमा राखेर सबैलाई एकता दिलाउन सक्ने नेतृत्वको खोजीमा रहेको बताउनुभयो । उहाँल् व्यापक समर्थनको आधारमा प्रतिनिधि सभाको उम्मेदवारमा पहिलो नम्बरमा आशुतोष मिश्रलाई सिफारिस गरिएको बताउनुभयो । साथै उहाँले स्थानीय नेतृत्व चयनमा जिम्मेवारीपूर्वक निर्णय गर्न आग्रह गर्नुभयो ।

    यता कोटहीमाई–५ मझगावाँमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का सभापति मुकेश यादवको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रमोद कुमार यादव, रजनी अचार्य तथा आरती केवटीनको नाम सिफारिस गरेको छ । प्रमोद यादव सोही क्षेत्रबाट निर्वाचित पूर्व सांसद् पनि हुनुहुन्छ ।

    बैठकले समानुपातिकतर्फ टेक बहादुर घले, सन्तराम प्रसाद हरिजन, रामनरेश प्रसाद पासी, केतकी हरिजन र सर्बदा मोर्यको नाम सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सभापति यादवले बताउनुभयो । बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका उम्मेदवारका लागि रामनारायण यादवको नाम सिफारिस गरेको उहाँले जानकारी दिनुभयो ।