२०८२, मंसिर २६ गते

Dec 12 2025 | २०८२, मंसिर २६ गते

निर्वाचन केन्द्रीत गतिविधिमा लाग्न नेता–कार्यकर्तालाई अब्दुल खानको आग्रह

शुक्रवार , मंसिर २६, २०८२

  • 235
    Shares
  • 235
    Shares
  • भैरहवा, २६ मंसिर । नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपाने) का वरिष्ठ उपाध्यक्ष अब्दुल खानले प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिदै गएकोले चुनाव केन्द्रीत गतिविधिमा लाग्न पार्टीका नेता तथा कार्यकताहरुलाई आग्रह गर्नुभएको छ ।

    शुक्रबार पार्टीका नेता–कार्यकताहरुसँग अन्तरक्रिया गर्न रुपन्देहीको भैरहवा आउनुभएका खानले आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचन हुनेमा कुनै शंका नरहेकोले चुनाव केन्द्रीत गतिविधि गर्न गर्नुभयो । ‘जेनजीको आन्दोलन पश्चात गठन सरकारको म्याण्डेट नै चुनाव सम्पन्न गराउने हो । नेकपा (एमाले) पनि निर्वाचनमा सहभागी हुनका लागि तयारीका साथ दल दर्ता लगायतको प्रक्रिया पुरा गरेको अवस्था छ’,उहाँले भन्नुभयो–‘केही दिन तलमाथि हुन सक्छ । तर, चुनाव निश्चित हुन्छ । जेनजी आन्दोलनको निष्कर्ष पनि चुनाव नै हो ।’  

    उहाँले जेनजी आन्दोलन विशुद्ध सुशासन, विकासका लागि भएको र परिवर्तनका लागि निर्वाचन अपरिहार्य रहेको तर, पुनः सोही सांसद् (पुराना नेता) लाई नै मतदान गर्नु रगत बगाएका जेनजीहरुमाथि धोका हुने टिप्पणी गर्नुभयो । उहाँले नाउपाने समावेशीताको पार्टी भएको उल्लेख गर्दै नागरिकको पहिचान र सम्मान हुनुपर्ने पार्टीको स्पष्ट धारणा रहेको बताउनुभयो ।

    पार्टीमा एकल नेतृत्व भएको अवस्थामा पार्टी गतिशिल हुन नसक्ने भएकोले ‘मल्टीलिडर’ नेतृत्व हुनुपर्ने आवश्यक रहेको बताउनुभयो । ‘पार्टीको कुनै कार्यक्रम गर्दा रेशमजीको मात्र फोटो हुनुभएन । स्थानीय नेताको पनि फोटो त्यहाँ राख्दिनुस् न ! यसले पार्टीप्रति अपनत्व पनि बढाउँछ’, कार्यकर्तालाई उदाहरण दिदै उहाँले भन्नुभयो–‘त्यसैले म भन्छु एकल नेतृत्व हुनुहुँदैन, पार्टीलाई गतिशील बनाउनुपर्छ । जसका लागि ‘मल्टीलिडर’ नेतृत्व हुनुपर्छ ।’

    उहाँले विकास, रोजगारीसहित नयाँ नेपालको अवधारण अन्र्तगत आफुहरु अघि बढेकोले सबै जात, धर्मलाई साथमा लिएर सामाजिक एकता कायम गर्दै अघि बढ्न आग्रह गर्नुभयो । उनले जनताको मत लिन नसक्ने भए नेतृत्वमा कमी रहेको स्वीकार गर्दै समीक्षाका साथ आत्मआलोचना गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्यहरु आसिन गुरुङ, रामु यादव, नन्दा चौधरी, किरन गुप्ता, रुपन्देही जिल्ला संयोजक विजय चौधरी, क्षेत्र नम्बर १ का इञ्चार्ज रामकुमार कठरिया, युवा नेता मोहिबुद्दिन अन्सारी, पारस भार, उमा शंकर धरिकार, जाहिद अलि खान, विरेन्द्र कुमार धवल, धर्मेन्द्र लोध, रमेश यादव, अजिज अहमद, कैलाश यादव, प्रवेश कुमार लोध, राजुकमार वर्मा लगायतका नेता कार्यकता तथा शुभेच्छुकहरुको उपस्थिति थियो ।