आइतवार , मंसिर २८, २०८२
भैरहवा, २८ मंसिर । मोबाइल व्यवसायी संगठन, रुपन्देही (इकाई) को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले हरि बहादुर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
प्रमुख निर्वाचन अधिकृत भक्ति नारायण मिश्राका अनुसार संगठनको उपाध्यक्षमा राजकुमार गुप्ता, महासचिवमा श्याम प्रकाश गुप्ता, कोषाध्यक्षमा दिनेश गुप्ता, सचिवमा दीपक पौडेल, सहकोषाध्यक्षमा रमेश यादव र सहसचिवमा पुरुषोत्तम केसरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहमा जसवन्त धवल, सत्यम कलवार, मोहम्मद रसिद मुलमान, सुजन दंगाल, विजेता कुमार वर्मा र रमेश पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
साधारण सभा तथा अधिवेशनको लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य चन्द्रकेश (सी.के.) गुप्ताले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै गुप्ताले अहिलेको युगमा मोबाइलको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मोबाइल व्यवसायी संगठन रुपन्देहीले आफ्नो स्थापनाकालदेखि नै रुपन्देही जिल्लाभरका मोबाइल व्यवसायीहरूको हकहितको संरक्षण, व्यावसायिक एकताको सुदृढीकरण र समाजसेवाका कार्यहरूमा पुर्याएको योगदान सराहनीय रहेको बताउनुभयो ।
‘आजको २१ औं शताब्दीमा मोबाइल प्रविधि मानव जीवनको अभिन्न अंग बनिसकेको छ । यसको सहज उपलब्धता र प्रयोग सुनिश्चित गर्नमा मोबाइल व्यवसायीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । उहाँले भन्नुभयो–‘मेरो विश्वास छ, तपाईंहरूको यो संगठनले प्रविधिको विकास र व्यवसायीहरूको क्षमता अभिवृद्धिमा थप प्रभावकारी काम गर्दै जानेछ ।’
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले मोबाइल घरघर, बेडरुम, भान्सा र हातहातमा पुगिसकेको बताउनुभयो । उहाँले मोबाइल व्यवसायी संगठन, रुपन्देही उत्कृष्ट काम गरेर आफ्नो पहिचान स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सभा सदस्य बनियाले मर्चवार क्षेत्रमा आगलागी भएको संकटको बेलामा यो संगठनले सहयोग गरेर मल्हम लगाउने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । ‘व्यवसायको हकहितसँगै संगठन सामाजिक कार्यमा पनि अग्रसर छ, मर्चवार क्षेत्रका युवाहरुलाई रोजगारी तथा तालिमको अवसर प्रदान गरिएको छ, यो उदाहरणीय कार्य हो, उहाँले भन्नुभयो ।
मोबाइल व्यवसायी संगठन, रुपन्देहीका संस्थापक अध्यक्ष बैजनाथ गुप्ता (बि.एन.)ले आफ्नो जीवनको दुई दशक भन्दा बढी समय मोबाइल पेशामा बितेको बताउनुभयो । उहाँले मोबाइल खरिद गर्न सीमापारी जाने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । गुप्ताले मोबाइल व्यवसायी संगठन, रुपन्देही व्यवसायीको हकहितका लागि काम गर्ने र गलत कामको ढाकछोप नगर्ने स्पष्ट पार्नुभयो ।
नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय सदस्य विष्णु ज्ञवालीले मोबाइल व्यवसायी संगठन, रुपन्देहीको संगठन विस्तारमा संस्थापक अध्यक्ष बैजनाथ गुप्ताको टीमले धेरै मिहिनेत गरेको छ । मोबाइल व्यवसायीले आफ्नो व्यवसायप्रति गर्व गर्नुपर्ने उहाँको भनाइ छ । व्यवसायिक सुरक्षा र प्रवद्र्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेपाल मोबाइल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष डी.एन. भण्डारीले संगठनको महत्व बुझेर अघि बढ्न आग्रह गर्नुभयो ।
बुटवल मोबाइल संघका अध्यक्ष शिवदेव अर्यालले सामाजिक पहिचानसहितको व्यवसायिक सुरक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा गर्न नहुनेमा जोड दिनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष सचिन रोक्काले मोबाइलको दररेटमा एकरुपता आवश्यक रहेको बताउनुभयो । उहाँले सम्पूर्ण व्यवसायीमा सेवा भाव र इमान्दारिता आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी, संस्थापक अध्यक्ष मनिष कुमार जोशी, सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले बोल्नुभएको थियो ।
मोबाइल व्यवसायी संगठन, रुपन्देहीका संस्थापक अध्यक्ष बैजनाथ गुप्ताको अध्यक्षता, उपाध्यक्ष हरि बहादुर पाण्डेको स्वागत तथा महासचिव राजकुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संगठनका पूर्व सचिव स्वर्गीय अरुण गुरुङको श्रीमती सीता गुरुङलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij