२०८२, मंसिर २८ गते

Dec 14 2025 | २०८२, मंसिर २८ गते

‘अब हामी पनि बैंकबाट ऋण झिक्न पाउँछौं’

आइतवार , मंसिर २८, २०८२

  • 460
    Shares
  • 460
    Shares
  • भैरहवा, २८ मंसिर । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ का सुखु आरख जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) हातमा पाएपछि निकै खुसी देखिनुभयो । खुसी हुँदै उहाँले भन्नुभयो–‘अब त लालपूर्जा राखेर बैंकबाट ऋण (पैसा) झिक्न सक्छु । छोराहरुले पनि पैसा झिक्न सक्छन् । लामो समयदेखि लालपूर्जा पाएपछि खुसीको सीमा नै छैन ।’

    अर्का स्थानीय जंग बहादुर यादवले लामो समयपछि प्रतिफल प्राप्त भएको बताउनुभयो । ‘लामो समयको प्रतीक्षापछि लालपूर्जा पाएका छौं । यो खुसीको कुरा हो, मायादेवी गाउँपालिका, वडा नम्बर ३ को कार्यालय र नापी कर्याालयदेखि हृदयदेखि नमन गर्दछु ।’

    सुखु र जंग बहादुर मात्रै होइन, वडा नम्बर ३ का त्रिवेणी यादवले पनि लालपूर्जा पाएपछि एकदमै खुसीको अनुभुति भएको बताउनुभयो । उहाँहरुले जग्गाको मालिक बन्न नसक्नुभएका अन्य वडाका नागरिकलाई पनि जग्गाको मालिक बनाउनुपर्ने बताउनुभयो । लालपूर्जा पाउनुअघि स्थानीयले जनप्रतिनिधि, कर्मचारीलाई टीका लगाइदिएर खुसी साटासाट समेत गर्नुभयो ।

    मायादेवी गाउँपालिकाको नापी नक्सा तथा भूमि व्यवस्थापन शाखा प्रमुख (अमिन) हृदेश कुमार बनियाका अनुसार शुक्रबार मायादेवी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा ९६ थान जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । मायादेवी गाउँपालिका र नापी कार्यालय रुपन्देहीको आयोजनामा वडा नम्बर ३ का विभिन्न गाउँब्लक कित्ताको जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रम गरिएको हो ।

    lalpurja mayadevi.jpg

    गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले मायादेवी गाउँपालिकाको लागि आजको दिन ऐतिहासिक भएको बताउनुभयो । आफूहरुले गरेको वाचा र जनताको मागबमोजिम वर्षौदेखि जोतभोग गरेका नागरिक आज जग्गाको मालिक बन्न सफल हुनुभएको अध्यक्ष चौधरीले बताउनुभयो । ‘गाउँपालिकाले काम गरिरहेको छ, सुतेको छैन भन्ने एउटा उहाहरण यो पनि हो, उहाँले भन्नुभयो–‘यो कार्यमा नापी कार्यालय रुपन्देहीले महत्वपूर्ण सहयोग गरेको छ ।’

    नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले स्थानीय तहको सहकार्य, समन्वय र सहयोगमा लालपूर्जा वितरण कार्यलाई बाँकी स्थानमा पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले मायादेवीमा पुर्ननापीको काम पनि सुरुवात भएको र यसलाई शिघ्र टुंगोमा पुर्याउने प्रयास रहेको बताउनुभयो । ‘जग्गाधनी प्रमाणपूर्जा कार्यान्वयनमा आउन कानून अनुसार १२० दिन लाग्छ, त्यत्ति बेलासम्म मालपोतमा श्रेस्ता हतान्तरण गछौं, त्यसपछि यहाँहरुले आवश्यकता अनुसार विभिन्न प्रयोजनमा लालपूर्जा लगाउन सक्नुहुनेछ, ’उहाँले भन्नुभयो ।’

    lalpurja.jpg

    मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले विगतदेखि नापी कार्यालययको सहयोगमा जग्गाको नापजाँच कार्य अघि बढाए पनि विभिन्न कारणले लालपूर्जा वितरण गर्न नसकिएको बताउनुभयो । ‘आज ढिला भए पनि जग्गा नापजाँच गरेर आज जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न सफल भएका छौं, ’उहाँले भन्नुभयो–‘सबै वडामा कामहरु अगाडि बढाउने तयारीमा छौं । भूमि आयोगको कामहरु प्नि अगाडि बढाएका छौं ।’

    हालसालै मायादेवी गाउँपालिका–८ बाट पुर्ननापीको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । वडा नम्बर ८ बाट सुरु भए पनि सबै वडामा हुने उहाँको भनाइ छ । नागरिकलाई परेका समस्या समाधान गर्न गाउँपालिकाले प्रयास गरेको उहाँले बताउनुभयो । नापी कार्यालयले धेरै सहयोग गरेको पोखरेलले बताउनुभयो ।

    मायादेवी–३ का वडाअध्यक्ष मोहम्मद रफिक खाँले वडा नम्बर ३ को लागि आजको दिन ऐतिहासिक दिन बताउनुभयो । उहाँले अहोरात्र खट्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।