बुधवार , पौष २, २०८२
काठमाडौं, २ पुस । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको जेन—जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउनुहुँदै सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा भएको बताउनु भयो ।
आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताउनु भयो ।
उहाँले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प भनेको निर्वाचन रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गत भदौ २३ र २४ गतेको जेन—जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ ।
आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ । त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।
मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो । म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन ।
शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ ।’
प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने बताउनु भयो । शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताउनु भयो । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भुमिका उत्तिकै महत्वपूर्ण हुने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij