२०८२, पौष ५ गते

Dec 20 2025 | २०८२, पौष ५ गते

‘अवैध मदिरा भित्रिदा वैध व्यापार गर्नेहरु मर्कामा’

शनिवार , पौष ५, २०८२

  • 310
    Shares
  • 310
    Shares
  • भैरहवा, ५ पुस । भारतबाट नेपालमा अवैध रुपमा मदिरा भित्रिदा वैध व्यापार गर्नेहरु मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले अवैध रुपमा भारतीय मदिरा नेपालमा भित्रिदा राजस्वमा समेत असर पर्ने भएकाले यसलाई रोक्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग राखेका छन् ।

    भैरहवामा आयोजित मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्ने व्यवसायीहरुले राज्यको राजस्वमा मदिरा व्यवसायको योगदान महत्वपूर्ण भए पनि राज्यले कदर गर्न नसकेको बताउनुभयो । घरेलु मदिरालाई पनि निरुत्साहित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

    कार्यक्रममा संघका अध्यक्ष बाबुराम पाण्डेले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको गुनासो गर्नुभयो । उहाँले आर्थिक मन्दीका कारण पनि व्यवसायमा समस्या आएको बताउनुभयो । मदिरा व्यवसायी संघ भैरहवाले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु पनि निरन्तर गर्दै आएको उहाँको भनाइ छ ।

    त्यस्तै संघका महासचिव यादव पोख्रेलले खुल्ला सीमाको फाइदा उठाउँदै भित्रिने अवैध नियन्त्रण कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि संघले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले होटल र मदिरा व्यवसायीबीच नङ र मासुको जस्तो गहिरो सम्बन्ध रहेको बताउनुभयो ।

    मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बाबुराम ज्ञवालीले व्यवसायीका समस्या समाधानका लागि एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले मदिरा व्यवसायी संघ भैरहवा व्यवसायीका समस्या समाधानका लागि अघि बढेको बताउनुभयो ।

    चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले मदिरा व्यवसायी संघ भैरहवाले भवन निर्माण गर्ने योजना बनाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले सबैभन्दा बढी कर तिर्ने मदिरा व्यवसायी भएको बताउनुभयो । उहाँले राज्यले सधैभरी मदिरामा राजस्व बढाएको बताउनुभयो । अध्यक्ष आचार्यले अवैध मदिरा भित्रिन नदिन व्यवसायीले धेरै कदम चालेको बताउनुभयो । ‘हिजो अवैध रुपमा खाद्यान्न मात्र भित्रिन्थ्यो । तर, अहिले अवैध मदिरा भित्रिरहेको छ, ’उहाँले भन्नुभयो– अवैध मदिरा भित्रिन नदिन राज्य चनाखो हुनुपर्छ । नेपालमा मदिराको मूल्य पनि बजेटमार्फत घटाउनुपर्छ ।

    मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ सल्लाहकार खिम बहादुर खत्रीले मदिरा व्यवसायी राज्यबाट उपेक्षित भएको गुनासो गर्नुभयो । उहाँ कर पनि लिने र उपेक्षा पनि गर्ने कार्य ठीक नभएको बताउनुभयो । खत्रीले प्रत्येक वर्ष अन्तःशुल्क बढेको भन्दै करको दर नभइ दायरा बढाउनुपर्ने माग राख्नुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले मदिरा व्यवसायी संघ भैरहवाले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।

    मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु प्रसाद भट्टराईले खुल्ला सीमाका कारण अवैध मदिरा भित्रिएको बताउनुभयो । ‘नेपाल र भारतमा मदिराको दररेट फरक छ, उपभोक्तालाई सीमापारी नजानु भन्न सकिदैन, ’उहाँले भन्नुभयो–राज्यले नै ध्यान दिनुपर्छ । व्यवसायीले पनि अवैध मदिरा खरिद तथा विक्रीवितरण गर्नुहुँदैन ।’

    नेपाल मदिरा व्यवसायी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार गिरीराज पौडेलले स्थानीय सरकारले घरबहाल कर बढाउँदा व्यवसायी मर्कामा परेको बताउनुभयो ।

    मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले यो संस्थालाई नगरस्तरीय संस्था भन्न नमिल्ने बताउनुभयो।
    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयले संकलन गरेको राजस्वमा ५० प्रतिशत योगदान मदिराजन्य उद्योग–व्यवसायको रहेको बताउनुभयो । उहाँले अवैध मदिरा बजारमा छ्यापछ्याप्ती रहेको भन्दै यसको न्यूनीकरण गरी वैध कारोबारलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । ‘नक्कली स्टीकर टाँस गरेर रुपन्देहीबाट पहाडी जिल्लामा मदिरा पठाउने गरिएको पाइएको छ, त्यस्ता उद्योगलाई कारवाहीको दायरामा ल्याउँदैछौं, ’उहाँले भन्नुभयो ।
    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–८ का कार्यबाहक वडाअध्यक्ष हरि प्रसाद आचार्य, मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष भागीरथ पाण्डे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा पत्रकार रबिन्द्र प्रताप गुप्ता, मदिरा व्यवसायी संघ भैरहवाको कार्यालयका लागि निःशुल्क स्थान उपलब्ध गराउनेहुने तेज बहादुर खत्री, भगवती खत्री, मदिरा व्यवसायी संघ रुपन्देहीको नवनिर्वाचित टोलीलाई सम्मान गरिएको थियो ।