२०८२, पौष १४ गते

Dec 29 2025 | २०८२, पौष १४ गते

राहदानी रोक्का गरेको विषयमा मलाई कुनै जानकारी दिइएन : लेखक

सोमवार , पौष १४, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • काठमाडौं, १४ पुस । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई पूर्वजानकारी समेत नदिई स्थानहद तोकेको तथा राहदानी रोक्का गरेको भन्दै उक्त निर्णय विधिको शासन र संविधान तथा कानूनि व्यवस्थाविपरित भएको टिप्पणी गर्नुभएको छ । 

    सोमवार जाँचबुझ आयोगमा वयान दिएलगत्तै पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो टिप्पणी दिनुभएको हो । उहाँले आयोगको सिफारिसमा सरकारले आफूमाथि काठमाडौं उपत्यका बाहिर जान प्रतिवन्ध लगाएको र राहदानी रोक्का गरेको जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाएको पनि उल्लेख गर्नुभयो ।

    उहाँले प्रचलित कानुनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानहद र राहदानी रोक्का गरेको हो ? भन्नेबारे कुनै जानकारी प्राप्त नभएको पनि बताउनु भयो । उहाँले यसतर्फ सरकारलगायत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनु भयो । 

    उहाँले भन्नुभयो, ‘ बढो दुःखका साथ भन्नुपरेको छ, आयोगको सिफारिसमा नेपाल सरकारले तीन महिना र म समेतलाई काठमाडौं उपत्यकाभित्र स्थानहद गरेको र राहदानी रोक्का गरेको मैले सञ्चार माध्यममार्फत जानकारी पाएँ ।

    मलाई देशको संविधान वा अन्य प्रचलित कानूनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि ? के औचित्यले ? कति अवधिका लागि ? किन स्थानहद र राहदानी रोक्का गरेको हो ? कुनै लिखित वा मौखिक जानकारीसम्म दिइएकोछैन । नत मलाई यस बारे सोध्ने वा जवाफ दिने मौका नै दिइएको छ ।

    यो बिषय निर्णय गर्नुपूर्व र पछि पनि मैले विधिवत रुपमा जानकारी पाउनुपर्ने कुरा विधिको शासन र स्वच्छ सुनुवाईको सिद्धान्तभित्र नै पर्ने हो भन्ने मलाई विश्वास थियो । तर त्यो भएन । बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संबिधान एवं कानुनी व्यवस्थाविपरित समेत हुन । तसर्थ यसतर्फ आयोग र सरकारसहित सबै निकायलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

    उहाँले आन्दोलनको क्रममा योजनाबद्ध घुसपैठ भएको कारण हाताहाती भएको उल्लेख गर्दै प्रहरी दमनमा आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।