२०८२, पौष १९ गते

Jan 03 2026 | २०८२, पौष १९ गते

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमले मनायो १९ औं वार्षिक उत्सव

शनिवार , पौष १९, २०८२

  • 304
    Shares
  • 304
    Shares
  • भैरहवा, १९ पुस । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकम (एनईओएनएनटी) ले आफ्नो १९ औं वार्षिक उत्सव मनाएको छ । संगठनको लुम्बिनी प्रादेशिक समिति, भैरहवाले शुक्रबार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा वार्षिक उत्सव समारोह तथा अन्तरक्रिया कार्यक्रम गरी मनाएको हो । २०६३ साल पुस १८ गते यो संगठनको स्थापना भएको हो । 

    अन्तरक्रियामा लुम्बिनी प्रादेशिक निर्देशनालय अन्तर्गतका तीनवटा लेखा कार्यालयहरु र सो मातहतका प्राविधिक कार्यालयहरुबीच एफटीटीएच सेवाको प्रभावकारी मर्मतसम्भार, उक्त सेवाको सेवा प्रर्वद्धन, मोबाइल सेवाको गुणस्तर लगायतका विषयमा छलफल गरिएको छ ।

    कार्यक्रममा प्राविधिक कार्यालयहरु दूरसञ्चार कार्यालयका तौलिहवा, परासी, मंगलापुर, गुल्मी र अर्घाखाँचीका कार्यालय प्रमुखहरुले फाइबर सेवाको (इन्टरनेट) सेवा प्रर्वद्धन तथा प्रभावकारी मर्मत सम्भारका विषयमा धारणाहरु राख्नुभएको थियो ।

    त्यसै गरी दूरसञ्चार कार्यालय भैरहवाका कार्यालय प्रमुख उपप्रबन्धक उज्जवलमान सिंह बनिया, बुटवलका निमित्त कार्यालय प्रमुख वरिष्ठ इञ्जिनियर सुशील अधिकारी, पाल्पाका कार्यालय प्रमुख वरिष्ठ इञ्जिनियर हेमन्त कर्णले पनि धारणाहरु राख्नुभएको थियो । उहाँहरुले यस्ता कार्यक्रमले कम्पनीमा विद्यमान समस्या र चुनौतीको समाधानका साथै कर्मचारीको हकहित र विकासवृत्तिका लागि दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उठेका जिज्ञासाहरुबारे नेपाल टेलिकम प्रादेशिक निर्देशनालयकोतर्फबाट व्यापार प्रमुख, प्रशासन प्रमुख तथा वायरलाइन वायरलेस सिभिल तथा लेखासँग सम्बन्धित उपप्रबन्धकहरुले प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक हरि ढकालले कम्पनीको लक्ष्यअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले ग्राहकका समस्या समाधान गर्न कम्पनी तत्पर रहेको र सोही अनुसार अघि बढेको बताउनुभयो । लेखा कार्यालय तथा मातहतका कार्यालयहरुलाई लाइन वितरणको लागि तोकिएको लक्ष्यहरु पुरा गर्न र फाइबर इन्टरनेट सेवाको प्रवद्र्धनको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 

    एनईओएनएनटी लुम्बिनी प्रादेशिक समितिका अध्यक्ष हरि बहादुर खड्काले लक्ष्य पूरा गर्न कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले नयाँ ग्राहक थप्नुका साथै पुराना ग्राहकलाई बिर्सन नहुने बताउनुभयो । अध्यक्ष खड्काले मर्मतसम्हार समयमै गर्नुपर्नेमा जोड दिनुभयो । साथै नेपाल राष्ट्रिय कर्मचारी संगठनले विगतमा पनि जागरण अभियान, प्रभावकारी मर्मतसम्भार, परिवर्तन आफैबाट सुरु गरौं, घरदैलो अभियान जस्ता पृथक कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । टेलिकमले फाइबर इन्टरनेट अन्तर्गत विद्यार्थीहरुलाई लक्षित गरी रु. ५ हजार मा ३० एमबीपीएसको प्याकेज माघ २२ गतेसम्मको लागि ल्याएको उहाँले जानकारी दिनुभयो । 

    नेपाल राष्ट्रिय कर्मचारी संगठनका नेपाल टेलिकम प्रादेशिक समितिका अध्यक्ष हरि बहादुर खड्काको अध्यक्षता, टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक हरि ढकालको प्रमुख आतिथ्यता, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय सदस्य दिनेश पाण्डेको बिशेष आतिथ्यता, प्रादेशिक समितिका उपाध्यक्ष रिचा रामदामको स्वागत तथा सचिव गोविन्द प्रसाद भुर्तेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा नेपाल वर्कस युनियनका लुम्बिनी प्रादेशिक अध्यक्ष शिव शर्मा, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अध्यक्ष सीता सुवेदी, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रबन्धक उपेन्द्र प्रधान लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    त्यसै गरी दोस्रो चरणको कार्यक्रम अन्तर्गत नेपाल टेलिकम उप प्रानि नेपालगंज र तुल्सीपुर मातहतमा कार्यालयहरुबीच अन्तरक्रिया गरिने नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकम (एनईओएनएनटी) लुम्बिनी प्रादेशिक समितिले जनाएको छ ।